नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुग्यो
काठमाडौ,जेठ १८ । नेपालमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दैलेखका ३५ वर्षीय युवक र बाजुराकी २ वर्षीय बालिका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार दैलेख जिल्लाको दुल्लु नगरपालिका –७ मा निर्माण गरिएको क्वारेन्टाइनमा ३५ वर्षीय पुरुषको हिजो(शनिवार) मृत्यु भएको थियो ।
उनी १० दिन अघि मात्र भारतबाट फर्किएका थिए ।क्वारेन्टाइनमा एक्कासी ढलेर मृत्यु भएका उनको जेठ १५ गते कोरोना परीक्षणको लागि स्वाब कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएकोमा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
त्यस्तै बाजुराकी २ वर्षीया बालिकाको शनिवार राति २:३० बजे मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । उनी बाबु आमासहित भारतबाट नेपाल आएकी थिइन् । उनलाई स्वास्थ्यमा समस्या आई जेठ १५ गते उपचारका लागि बाजुरा अस्पताल भर्ना भएकी थिइन् ।
मृतक बालिका बाजुराको बुढीगंगा नगरपालिका–१ की हुन् । यससँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ८ पुगेको छ । यसअघि सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरी महिला, बाँकेका २५ वर्षका युवक, गुल्मीका ४१ वर्षीय पुरुष, अर्घाखाँचीका ३० वर्षीय पुरुष, ललितपुरका ५७ वर्षीय पुरुष र बाराका ७० वर्षीय वृद्ध गरी ६ जनाको मृत्यु भइसकेको छ ।
नेपालमा आज थप १ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ सय ६७ पुगेको छ । भने हालसम्म २ सय २० जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । आज मात्र मकवारपुरकी १ महिला कोरोना उपचारपछि निको भएर घर फर्किएकी छिन् ।
१८ जेठ २०७७, आइतवार ११:०४ बजे प्रकाशित































