सरकारले सच्चायो इदको सार्बजनिक बिदा
काठमाण्डौं, ११जेठ । इस्लाम धर्मावलम्बीहरूले मनाउने पर्व इद उल फित्रको अवसरमा सरकारले दिएको आजको सार्वजनिक बिदा भोलिलाई सारिएको छ।
गएराति अबेर गृह मन्त्रालयले सूचना सच्याउँदै सार्वजनिक बिदाको दिन परिवर्तन गरेको हो।
मन्त्रालयका शाखा अधिकृत गणेश तामाङको हस्ताक्षरमा जारी सूचनामा आजको सट्टा भोलि, १२ जेठमा बिदा कायम गरिएको जानकारी गराइएको छ।
नेपाल र दक्षिण एशियाभरबाट हिजो, १० जेठमा चन्द्रमा नदेखिएका कारण उक्त पर्व भोलि मनाउने निर्णय भएकोले बिदाको दिन परिवर्तनका लागि मुस्लिम आयोगबाट अनुरोध भइ आए बमोजिम भोलिलाई बिदा कायम गरिएको मन्त्रालयले जनाएको छ।९ जेठको मन्त्रिपरिषद्को निर्णय बमोजिम यसअघि सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।
११ जेठ २०७७, आइतवार ०२:१४ बजे प्रकाशित































