कैलालीको त्रिनगर नाकाबाट हुलका हुल नेपाली भित्रिदै
धनगढी,जेठ ८ । कैलालीको त्रिनगर नाकाबाट हुलका हुल नेपाली आउने क्रम जारी छ । भारतमा रहेका नेपाली नागरिकहरुको मजदूरी खोसिएपछि उनिहरु स्वदेश फर्किरहेका हुन् । कोभिड १९ अर्थात कोरोना भाइरसका कारण देश लकडाउनमा भएसंगै देशभरका सिमानाका बन्द छन् । तर कैलाली कञ्चनपुरका सिमा नाकाबाट स्वदेश फर्किने नेपालीको भने भिड लागेको छ । सुदूरपश्चिम प्रदेशका मात्रै करिब १० लाख नागरिक भारतमा रोजगारी गरिरहेका छन् । तर कोरोना भाइसका कारण अधिकाशंको रोजगारी गुमेपछि उनिहरु धमाधम घर फर्किरहेका छन् ।
४५ दिन भारतको क्वारेन्टाइनमा बसेपछि कैलालीको त्रिनगर नाकाबाट बैसाख ३१ गते करिब १ हजार नेपालीको उद्धार गरेको थियो । त्यसपछि स्वदेश फर्किने नेपालीको संख्या ह्वात्तै बढेको हो । केही दिनदेखी हजारौँको संख्यामा नेपालीहरु स्वदेश फर्किरहेका छन् । भारतले पास उपलब्ध गराएपछि उनिहरु स्वदेशका लागी सिमा सम्म पुगिरहेका छन् । स्वदेश फर्किनका लागी भारतिय सिमामा पुगेका नेपालीहरुका लागी क्वारेन्टाइननै नपुगेपछि उनिहरुलाई स्वदेश भित्र्याउन शुरु भएको हो । मंगलबार र बुधबार मात्रै त्रिनगर नाकाबाट २ हजार बढी नेपाली नागरिक भित्रिएका छन् । भारतमा रोजगारी गुमेपछि उनिहरुले अन्तिम बिकल्पका रुपमा स्वदेशको यात्रा तय गरेका हुन् ।
भारतबाट फर्केका धनी टमाटाले रोजगारी गुमेपछि अन्तिम बिकल्प स्वदेश फर्कीनु बाहेक कुनै नरहेको बताएका छन् । ‘२ महिनादेखी नत नौकरि नै छ, नत घर फर्किने बाटोनै’ उनले भने बल्ल भारतमा रेल र बस खुलेपछि घर फक्यौँ’ । ‘भारतमै बस्यौँ भने खान नपाएर मरिने डर त्यसैले जोखिम मोलेर नेपाल फर्केका हौँ’ उनले भने ‘यस्तो परिस्थीतीमा घर फर्किन कुनै रहर थिएन ।’
भारतबाटै फर्केका राम बहादूर साउँदले भोकभोकै मर्ने हुँ की भन्ने चिन्ताले घर फर्कैका हौँ । उनले भने ‘भारतमा कोरोनाका कारण रोजगारी गुमेर समस्यामा पर्नुका साथै लिपुलेक कालापानी मुद्धाका कारणपनि नेपालीहरु हेपिन थालेका छन् ।’बैसाख ३१ गते सिमाबाट उद्धार गरिएका सबै नेपाली नागरिकको सिमामै ¥यापिड टेस्ट गरेर सम्बन्धित स्थानिय तहको क्वारेन्टाइनमा राखिएपनि मंगलबारदेखी भित्रिरहेका नागरिकहरुमध्ये सबैको ¥यापिड टेस्ट गर्न सकिएको छैन । दैनिक हजारौँको संख्यामा नागरिकहरु स्वदेश भित्रिन थालेपछि टेस्ट गर्न किट अभाव हुन थालेको प्रशासनले जनाएको छ ।
मंगलबार भित्रिएको करिब एक हजार जनाको स्वास्थ्य परिक्षण नभएपनि बुधबार भने ८ सय जनाको ¥यापिड टेस्ट गरिएको छ । हुलका हुल नेपालीहरु स्वदेश भित्रिन थालेपछि ब्यवस्थापनमा समस्या आउनुका साथै सबैको स्वास्थ्य चेकजाँच गर्न समेत समस्या भएको जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकिय अधिकृत शिवराज जोशीले बताएका छन् । सरकारले सिमा बन्द गरेपनि भारतबाट नेपालीहरु धमाधम सिमामा पुग्न थालेपछि दुबै देशका प्रशासनको समन्वयमा उनिहरुलाई भित्र्याउन लागिएको हो । प्रदेश सरकारले सिमा नखुलेको जनाएको छ । सिमा पुर्ण रुपमा बन्द भएपनि अलपत्र परेकाहरुलाई सिमाबाट उद्धार भइरहेको प्रदेश सरकारले जनाएको छ । संका लागेको खण्डमा उनिहरुको स्वाब संकलन गरेर कोरोना परिक्षण गर्ने कार्य भइरहेको सामाजिक बिकास मन्त्री कृष्णराज सुवेदीले बताएका छन् । साथै स्थानिय तहहरुले क्वारेन्टाइनको संख्या बढाइरहेकाले तत्काललाई ब्यवस्थापनमा समस्या नहुने उनले बताएका हुन् ।
यसरी हुलका हुल भित्रिरहेका नागरिकहरुका कारण सुदूरपश्चिममा कोरोनाको जोखिम निकै बढाएको छ । सबैको परिक्षण गर्नै समस्या भएकाले अब सुदूरपश्चिममा कोरोना संक्रमण बढ्ने चिन्ता बढेको छ । त्यसैले सिमामै स्वास्थ्य परिक्षण गर्न स्थानियको माग छ ।
रोजगारीलाई प्राथमिकता दिन माग
कोरोना सँक्रमण सँगै निरन्तर लकडाउन जारीले काम नै बन्द हुँदा लाखौँ सुदुरपश्चिमेलीहरु रोजगारी गुमाएर धमाधम स्वदेश फर्किरहेका छन् ।
लकडाउनका कारण रोजगारी नै ठप्प बनेपछि स्वदेश भित्रीएका र भित्रीदै गरेका नेपालीह्ररुमा भविष्य के हुन्छ भन्ने चिन्ता यति वेला छ । रोजगारीका लागी बिदेश जानु भन्दा आफ्नै देशमा काम गर्ने ईच्छा रहेको उनीहरुले बताएका छन् । कामको सिलसिलामा भारत गएका डडेल्धुराका सागर रावल स्वदेशमै रोजगारीको ब्यवस्था भए बिदेश नजाने पक्षमा छन । आफु्जस्ता लाखौँ युवा स्वदेश भित्रीएकाले सरकारले बिभिन्न आयआर्जन तथा सिपमुलक लगायत कृर्षिमा आत्मनिभर्रका कार्यक्रम ल्याई रोजगारी सृजना गनुपर्ने उनको भनाई छ ।
बिश्व ब्यापी रुपमा फैलिएको कोरोना सँक्रमणका कारणले धेरैले रोजगारी गुमाउनु परेको छ । सो सँकटका कारण बेरोजगार बनेका युवा तथा श्रमिकलाई व्यवसायमुखी र आत्मनिर्भरतर्फ उन्मुख गराउन सरकारले पहल चाल्नुपर्ने उनीहरुको भनाई छ । त्यस्तै प्रदेशका थुप्रै बेरोजगार ब्यक्तिहरुका लागी स्वरोजगार मुखी कार्यक्रम ल्याउनुपर्ने आवस्यकता देखिन्छ । सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनितादेवी चौधरीले बाहिर गएका जनशक्तिलाई रोजगारी दिन कृर्षिलाई प्राथमिकता दिएको बताईन् । कोभिड–१९को सङ्कटका कारण बेरोजगार बनेका युवा तथा कृषकलाई आगामी आर्थिक वर्षको बजेटमा बिशेष कार्यक्रम ल्याएको उनको भनाई छ ।
अब जान्नौँ भारत
महामारीका बेला भारतिय क्वारेन्टाइनमा बस्दाको अनुभव सुनाउँदै नेपालीहरु अब भारत नफर्किने निर्णय गरिरहेका छन् । भारतको सितारगन्जबाट स्वदेश फर्किनका लागी आएका कैलालीको गौरिगंगा नगरपालिकाका हिमाल चौधरीपनि भारतमा निकै पिडा भोगेको सुनाउँछन् ।भारतको क्वारेन्टाइनमा बस्दा निकै समस्या भोगेको उनि सुनाउँछन् । समस्या भनेर साद्य छैन । चौधरीले भने ‘कहिले पेट भरी खाना पाइन्थ्यो कहिले एक छाक मात्रै खाना पाइन्थ्यो’ ।
खानाको स्वाद त परै जावस नियमित खाना नै नपाएको उनि सुनाउँछन् । क्वारेन्टाइनमा बस्दा भारतियले गरेको ब्यवहारले गर्दा अब नफर्किने सोचेको छु । उनले भने ‘नेपालमै केही गर्छू मरेपनि यतै मरुला’ । कैलालीको धनगढी उप महानगरपालिका १७ का बुधराम डँगौरापनि मंगलबार नेपाल प्रवेश गरेका हुन् । हिउँदको काम सकेर भारतको बरेलीमा उखु मिलमा काम गर्न गएका डँगौरा १ महिना काम गर्ने बित्तिकै लकडाउनमा फसे ।
श्रिमति सहित मिलमा कामका लागी गएका उनले १ महिना काम गर्न नपाउँदै रोजगारी गुमाउनु प¥यो । रोजगारी गुमाएपछि घर फर्किन हिँडेका डँगौरालाई भारतिय क्वारेन्टाइनमा राखियो । घरमा साना छोरा छोरी छन्। उनले भने ‘श्रिमती सहित आफु काममा हिँडे निकै पिर परेको थियो आज बल्ल जन्मभुमी टेक्न पाए निकै खुशी छु’ ।
८ जेठ २०७७, बिहीवार १४:०१ बजे प्रकाशित































