लिपुलेकमा नेपाली झण्डा गाड्न हिँडेका ८ जना पक्राउ
दार्चुला, जेठ ८ । दार्चुलाको लिपुलेकमा नेपाली झण्डा गाड्न हिँडेका आठ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको लेकम गाउँपालिकाका जीवन विष्ट, मदन विष्ट, गणेश सिंह विष्ट, दिपक विष्ट, सुरेन्द्र विष्ट, अनिल साउँद, दिपक साउँद र जनक सिहं साउँदलाई व्याँस गाउँपालिकाको दुम्लीङबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुको व्यक्तिगत सुरक्षाको अवस्थालाई ध्यान दिदै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक पदम बहादुर विष्टले जानकारी दिए ।
‘देशमा अहिले बन्दाबन्दीको समय छ । एक ठाउँबाट अर्को ठाउँ जान बन्द गरिएको छ , लकडाउनको उलंघन गर्दै उनीहरु एक पालिकाबाट लुकीछिपी अर्को पालिका प्रवेश गरेका थिए । जसले गर्दा कोरोनाको खतरा समेत बढ्यो, उनले भने, स्थानियहरुले समेत उनीहरुलाई प्रवेशमा बाधा पुगाएको हुदा उनीहरुकै सुरक्षाको लागि नियन्त्रणमा लिइएको हो । उनीहरु नेपाली झण्डा लिएर कालापानी लिपुलेक तिर लागेका थिए ।
८ जेठ २०७७, बिहीवार १०:३७ बजे प्रकाशित






























