कैलालीसँग जोडिएका झोलुंगे पुलमा धमाधम ताला लगाईदै
कैलाली चैत,२३ ।
सुदूरपश्चिम प्रदेशको कैलालीमा कोरोना भाइरसको संक्रमण देखिएपछि सीमा जोडिएका सुर्खेतका स्थानीय तहरूले उक्त जिल्लाबाट आवागमन बन्द गराएका छन्।
पश्चिम सुर्खेतका चौकुने, बराहताल गाउँपालिका र पञ्चपुरी नगरपालिकाले कैलालीसँग आवातजावत बन्द गर्न झोलुंगे पुल र डुंगासमेत बन्द गरेका छन्।
कैलालीसँग धेरै जोडिएको चौकुने गाउँपालिका हो। चौकुने गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीका अनुसार गाउँपालिकासँग जोडिएका सबै नाका बन्द गराइएको छ।
कैलालीसँग जोडिएको भेरी नदीको पुल, चौकुनेबाट कैलालीतर्फको बडीगाउँ जोड्ने कर्णाली नदीको फेरी र डुंगा बन्द गराइएको अध्यक्ष शाहीले जानकारी दिए। यस्तै चौकुनेको कुमालाबाट कैलालीको सोल्टा जोड्ने पुल पनि बन्द गराइएको छ।
सुर्खेत र कैलाली जोड्ने सीमा नाका केउडी–रागामलेखा, मौरीवन–ताम्चा, सोवानचौर–सावा, बगेला–पुण्डन बन्द गरिएको अध्यक्ष शाहीले बताए।
यस्तै कैलालीसँग जोडिएको कोलीमार, माटुमोल, टटाली, तुकेबलाटा, तालगाउँमा रहेका झोलुंगे पुलहरु पनि बन्द गरिएको उनले जानकारी दिए।
२३ चैत २०७६, आइतवार ०५:४२ बजे प्रकाशित