अचम्मको देश र बिचरा नेपाल
यतिखेर विश्वभर ठूलो तरङ्ग आएको छ र त्राहि–त्राहि भइरहेको छ । कोरोना भन्ने जैविक शक्तिले सबै देशमा हमला गरिरहेको अवस्था छ ।
यतिखेर यस्तो अनुभव हुँदै छ कि कतै पृथ्वी घुम्न त रोकिएको छैन ? सबैलाई यस्तो लाग्नु मनासिव नै हो । ठूला–ठूला उद्योग, कलकारखाना, बजार अनि सबै सडक रित्तै छन् । मानवीय आत्मीयताको दूरी बढ्दैछ । एक–अर्कासँग भेट नभइदिए हुन्थ्यो, म यो रोगबाट बच्न पाए हुन्थ्यो भन्ने जो–कोहीलाई लाग्नु स्वाभाविक पनि हो ।एक किसिमले भन्नुपर्दा डरैडरले बस्नुपर्ने अवस्था सिर्जना भइसकेको छ, जुन हाम्रो दूरी र डर नै एक–अर्कामाथि प्रहार गर्ने हतियार भइसकेको छ ।
कुरा गरौं अब हाम्रो देश नेपालको, जसको मुख्य आयस्रोत नै बिदेसिएका नागरिकबाटै आएको रेमिट्यान्स हो । तर न मुलुकले आहा भन्ने परिवर्तन नै देखाउन सक्यो, न त बिदेसिएका नागरिकलाई सुविधा र सम्मान दिन सक्यो ।
कुनै पनि देशको नागरिक वैदेशिक रोजगारीमा मुलुकको मातहतमा जान्छ भने भोलि भइपर्दा कुनै आपत्ति आएको खण्डमा त्यस नागरिकलाई मुलुक झिकाउने काम राज्यबाट नै हुनुपर्ने हो । उनीहरूको संरक्षण नेपाल सरकारले गर्नुपर्ने हो । संकटमा परेका, रोजगारी गुमाएका, पीडित र समस्यामा परेर म मेरो देश नेपाल पÞmर्कन्छु भन्नेलाई नेपाल फर्काउनु र उसको उपचार नेपालमा गराउनु नेपाल सरकारको दायित्व हो ।
आपत्मा आफ्नो घर आऊ फर्केर, नेपाल सरकारले व्यवस्था मिलाउँछ भन्ने कि हामी जिम्मा लिन सक्दैनौं, जो जहाँ छ त्यहीं नै उपचार गर्ने भन्ने ? नेपाली नागरिकलाई अरू मुलुकले किन संरक्षण गरिदेओस्, जबकि उसकै देशको नागरिकलाई बचाउन ऊ सफल छैन । यसै अर्थमा नेपाल बिचरा भएको छ ।
हुन त सरकारले गरेका काम सबै राम्रै गरिरहेको छ । भूकम्प आउँदाजस्तो अस्तव्यस्त छैन, किनकि यसमा योजना बनाउन र सतर्क हुन पर्याप्त समय नेपाल सरकारसँग थियो ।
अनि अचम्मको देश र त्यहाँका बिचरा जनता । जबकि सरकारले नेपाल जान आफ्नै नागरिकलाई सम्म रोक लगाएका बेला जापानबाट नेपाल सरकारलाई यस रोगविरुद्ध लड्न आर्थिक सहयोग गर्दा मलाई नेपाली नागरिक हुनुमा गर्व लाग्छ, अनि के भन्ने सरकारलाई ? जसको त मुख हेर्न पनि चाहन्नँ, उसकै आर्थिक सहयोगले देश र जनताको सेवा गर । के बिदेसिएका नेपालीचाहिँ सौतेनी आमाका छोरा हुन् र ?
रवीन्द्र फुयाँल
क्यानाडा
१८ चैत २०७६, मंगलवार ०३:३७ बजे प्रकाशित