प्रधानमन्त्री ओलीद्धारा सुकेपोखरी ढुंगेसाँघु सडक कालोपत्रेको शिलान्यास
पाँचथर : प्रधानमन्त्री केपी शर्मा ओलीले तेह्रथुमको सुकपोखरीदेखि मदन भण्डारीको जन्मस्थल ताप्लेजुङको ढुंगेसाँघु जोड्ने सडक कालोपत्रेको शिलान्यास गर्नुभएको छ । मध्यपहाडी लोकमार्गको तेह्रथुम सुकेपाखेरी खण्डदेखि मदन भण्डारी मार्गको ढुंगेसाँघु खण्ड जोड्ने सडकको आइतबार सिलान्यास गर्नु भएको हो ।
शिलान्यसपछि स्थानीयलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पूर्वाधार विकासले गाउँगाउँमा समृद्धि ल्याउने बताउनु भयो । उहाँले भन्नु भयो ‘यो ६५ किलो मिटर सडक बनेपछि सहरमात्र होइन गाउँ पनि विकास हुन्छ । त्यसैले समृद्धि ल्याउँछ ।’ उहाँले विकास र समृद्धिको युग शुरू भइसकेकाले अविकसित नेपाल अब इतिहासमा मात्रै सीमित राख्न सबै नेपाली लाग्न आग्रह समेत गर्नुभयो ।
मध्यपहाडी लोकमार्गको सुकेपोखरी, छातेढुंगा, भदौरे, ह्वाकु, चोकपुर हुँदै ढुंगेसाँघु जोड्ने यो सडकको लम्बाई ६५ किलोमिटर रहेको छ ।
पोखरी मावि, प्रणामी मावि, आधारभूत भानु इवा, भदौरे खण्ड ९ किलोमिटर पहिलो चरणमा कालोपत्रे गर्न लागिएको हो । यसका लागि ३१ करोड ५० लाख बजेट विनियोजन भएको छ । क्रमागत योजना अन्तर्गत सडक डिभिजनले निर्माण गरिरहेको उक्त सडकको कालोपत्रेका लागि टेन्डर प्रक्रिया अन्तिम चरणमा रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङले बताउनुभयो ।
प्रधानमन्त्री ओलीले आइतबार नै आफ्नो ६९ औँ जन्मोत्सव जन्मघर इवा पुगेर मनाउनु भएको छ । जन्मोत्सव मनाउँन उहाँसंगै उहाँका पिता मोहनप्रसाद ओली, पत्नी राधिका शाक्य, नेकपा संसदीयदलका उपनेता सुवासचन्द्र नेम्बाङ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्बाङ, स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल, खानेपानी मन्त्री बिना मगर, १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधर राई लगायत ठूलो संख्यामा सर्वसाधारण ओली जन्मस्थल पुगेका थिए ।
१३ फागुन २०७६, मंगलवार ०३:५७ बजे प्रकाशित