सरकारसँग सहमतिपछि डा. केसीले तोडे अनशन
डा. गोविन्द केसीले सरकारसंग सहमति भएपछि आफ्नो १९ औं आमरण अनशन तोडेका छन् । शनिबार राति सरकारसँग ८ बुँदे सहमति भएपछि डा. केसीले आज विहान २८ औं दिनमा अनशन अन्त्य गरेका हुन् ।
डा. केसीले त्रिवि शिक्षण अस्पतालका सफाइ कर्मचारी विकास नेपालीको हातबाट जुस पिएर अनसन तोडेका हुन् । ४६ वर्षीय नेपाली कोरोना संक्रमण भएर निको भएका हुन् ।
चिकित्सा शिक्षा सुधारका बिभिन्न ६ बुँदे मागहरु राख्दै डा. केसीले गत २९ भदौदेखि जुम्लाबाट १९ औं अनशन सुरु गरेका थिए । उनलाई आठौं दिनमा काठमाडौं ल्याइएको थियो । उनलाई त्रिवि शिक्षण अस्पतालको कोठा नं. ५०१ मा राखिएको थियो ।
अस्पताल परिसरमा अनशन तोडिदै गर्दा केसीका समर्थकहरुले ‘फेरि आमरण अनशन बस्न नपरोस्’ लेखिएका प्लेकार्ड बोकेर सरकारको ध्यानाकर्षण गराएका थिए ।
२५ असोज २०७७, आइतवार १२:१३ बजे प्रकाशित































