सुदूरपश्चिममा बजेट सार्वजनिक गर्ने बैठक फेरि सर्यो
धनगढी। सुदूरपश्चिम प्रदेश सरकारको बजेट सार्वजनिक गर्ने कार्यसूचीसहित आह्वान गरिएको प्रदेशसभा बैठक फेरि सरेको छ। आइतबार बिहान ९ बजेका लागि बोलाइएको बैठक दिउँसो २ बजेका लागि सारिएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी ताराकुमारी जोशीले जानकारी दिइन्।
प्रदेश सरकारले बजेटको तयारी पूरा गर्न नसक्दा प्रदेशसभा बैठक पटकपटक सर्दै आएको छ। बजेट सार्वजनिक हुन नसक्दा सुदूरपश्चिम प्रदेश तीन महिनादेखि बजेटविहीन अवस्थामा छ।
बजेट शून्यताको असर सरकारी कामकाजमा समेत परेको छ। चाडपर्वको मुखमा कर्मचारीले तलब पाउन सकेका छैनन् भने मन्त्रालय र मातहतका निकायलाई दैनिक कामकाज तथा आर्थिक व्यवस्थापन गर्न समस्या भइरहेको छ।
२५ असोज २०८३, आइतवार १०:४५ बजे प्रकाशित













