मुख्यमन्त्रीको आदेशमा खुल्यो धनगढीमा सेतीको गेट, वर्षौंदेखि थियो बन्द
धनगढी। लामो समयदेखि बन्द रहेको सेती प्रादेशिक अस्पतालको पुरानो भवनअगाडिको गेट मुख्यमन्त्री खगराज भट्टको निर्देशनपछि खुलेको छ।
प्रसूति कक्षअगाडि मुख्य सडकसँग जोडिएको गेट बन्द हुँदा अस्पतालमा आउने बिरामी तथा सेवाग्राहीलाई आवतजावतमा समस्या हुँदै आएको गुनासोपछि मुख्यमन्त्री भट्टले सामाजिक विकास मन्त्रालयमार्फत अस्पताल प्रशासनलाई गेट खोल्न निर्देशन दिएका थिए।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी किशोरकुमार श्रेष्ठले सेवाग्राहीको सहजताका लागि गेट खोलिएको बताए। उनका अनुसार गेट बन्द हुँदा आवतजावतमा समस्या भएको गुनासो सेवाग्राहीबाट निरन्तर आउने गरेको थियो।
प्रसूति केन्द्रअगाडिको गेट बन्द गरेर त्यसभित्र सवारीसाधन पार्किङ गर्ने गरिएको थियो। त्यसका कारण प्रसूति कक्षमा जाने सेवाग्राहीले समेत आकस्मिक कक्ष रहेको भवनअगाडिको प्रवेशद्वार प्रयोग गर्नुपर्ने अवस्था थियो।
सेती प्रादेशिक अस्पतालको पूर्वपट्टिको मुख्य गेट भने २०७६ सालदेखि नै बन्द थियो। सुदूरपश्चिमका नौवटै जिल्लाबाट बिरामी उपचारका लागि आउने अस्पतालको एउटा प्रमुख प्रवेशद्वार वर्षौंदेखि बन्द हुँदा पश्चिमतर्फको प्रवेशद्वारमा चाप बढ्दै आएको थियो।
पूर्वपट्टिको मुख्य गेट बन्द राख्नुको पछाडि अस्पतालको पश्चिमतर्फ रहेका केही निजी क्लिनिक तथा औषधि पसललाई फाइदा पुग्ने गरी ‘सेटिङ’ गरिएको आरोपसमेत विगतमा लाग्दै आएको थियो।
३० भदौ २०८३, मंगलवार ०७:०६ बजे प्रकाशित














