चिनी महँगिँदा सीमावर्ती उपभोक्ता मारमा
कञ्चनपुर। भारतीय बजारमा चिनीको मूल्य आकासिएपछि त्यसको प्रत्यक्ष असर सीमावर्ती क्षेत्रका उपभोक्तामा परेको छ। पछिल्ला केही सातायता भारतीय बजारमा चिनीको मूल्य बढेपछि यहाँका उपभोक्ता प्रत्यक्ष मारमा परेका हुन्।
भारतीय बजारबाट प्रतिकिलो ९० रुपियाँमा खरिद गर्दै आएका यहाँका उपभोक्ताले पछिल्लो समय मूल्यवृद्धिका कारण प्रतिकिलो १३० रुपियाँसम्म खर्च गर्न बाध्य भएका छन्। बेलौरी नगरपालिका–३ का स्थानीय जग्गुराम डगौराले भारतबाट ल्याइएको चिनी यहाँका पसलबाट प्रतिकिलो ९० रुपियाँमा खरिद गर्दै आए पनि अहिले १३० रुपियाँ तिर्नुपरेको गुनासो गरे।
स्थानीय लोकेन्द्र चौधरीले प्रतिकिलो ४० रुपियाँ मूल्य बढेपछि चिनीको प्रयोग घटाएको बताए। भारतबाट ल्याइएको चिनी भन्सार तिरेर यहाँका उपभोक्तालाई प्रतिकिलो ९० रुपियाँमा उपलब्ध गराउँदै आए पनि अहिले मूल्यवृद्धिका कारण १३० रुपियाँमा बिक्री गर्नुपरेको कलकत्ताका व्यवसायी मनीराम चौधरीले बताए।
सुदूरपश्चिमभरि हाल कञ्चनपुरका दुई स्थानमा चिनी मिल सञ्चालनमा छन्। दररेट नमिलेकै कारण भारतबाट चिनी ल्याएर बिक्री गर्नुपर्ने बाध्यता रहेको यहाँका व्यवसायीहरू बताउँछन्।
विगतमा भारतीय बजारमा प्रतिकिलो ७० रुपियाँ पर्ने चिनी यहाँका चिनी मिलबाट ९० रुपियाँमा खरिद गर्नुपर्दा उपभोक्ताले नरुचाएकै कारण छिमेकी मुलुकबाट चिनी खरिद गरेर ल्याउनुपर्ने अवस्था रहेको व्यवसायी हरिस थापाले बताए।
भारतीय बजारमा चिनीको मूल्य आकासिएपछि अहिले चिनीको मागसमेत घट्दै गएको कतिपय व्यापारीको भनाइ छ। शुक्लाफाँटा नगरपालिका–१० का स्थानीय रमा साउदले विगतमा प्रतिकिलो १०० रुपियाँ पर्ने चिनी अहिले १४० रुपियाँमा खरिद गर्नुपरेको गुनासो गर्नुभयो। यही जिल्लामा सञ्चालनमा रहेका चिनी उद्योगहरूले महँगोमा चिनी उपलब्ध गराउँदा चिनीका लागि भारतमा निर्भर हुनुपर्ने बाध्यता रहेको उनले बताए।
उपभोक्ताले यहाँका उद्योगहरूले सहज मूल्य निर्धारण गरी चिनी उपलब्ध गराउनुपर्ने माग गरेका छन्। तर कच्चा पदार्थको अभाव तथा उत्पादन लागतका कारण भारतीय उत्पादनभन्दा महँगोमा चिनी बिक्री गर्नुपर्ने बाध्यता रहेको बेलौरी नगरपालिका–१० स्थित महाकाली चिनी मिलका सूचना अधिकारी कालु सिंह ठगुन्नाले बताए।
दररेट नमिलेकै कारण कञ्चनपुर र कैलालीका उपभोक्ता वर्षौंदेखि भारतमा निर्भर रहँदै आएको उनको भनाइ छ। भारतीय चिनी यहाँका स्थानीय बजारमा छ्यापछ्याप्ती पाउन थालेपछि मिलले उत्पादन गरेको चिनी पूर्वी जिल्लामा निर्यात गर्नुपरेको उनले बताए।
भारतमा चिनीको मूल्य बढेपछि अहिले यहीँ उत्पादित चिनीको माग बढ्दै गएको उनको भनाइ छ। तिहारका लागि हाल ५० हजार क्विन्टल चिनी खपत हुने उनले बताए। यसपटक एक लाख ८३ हजार क्विन्टल चिनी उत्पादन गरेको महाकाली चिनी मिलले हालसम्म एक लाख २३ हजार क्विन्टल बिक्री भइसकेको जनाएको छ।
यहाँका व्यापारी तथा उपभोक्ताले भारतबाट चिनी ल्याउने गरेकै कारण यस क्षेत्रमा उत्पादित चिनीले स्थानीयस्तरमै पर्याप्त बजार पाउन नसकेको पुनर्वास नगरपालिकास्थित भागेश्वर चिनी मिलका सूचना अधिकारी डम्मर खड्काले बताए।
खुला सीमा नाकाको फाइदा उठाउँदै स्थानीयले विगतमा सस्तो मूल्यमा भारतबाट चिनी ल्याएर प्रयोग गर्ने गरेको उनले बताए। तर यसपटक भारतीय बजारमा समेत चिनीको मूल्य बढेपछि यहाँको उत्पादनले यसै क्षेत्रमा बजार पाउने अपेक्षा गरिएको उनको भनाइ छ।
यहाँका चिनी मिलले स्थानीयस्तरमा नै चिनीको पर्याप्त व्यापार नपाएपछि सुदूरपश्चिमका पहाडी जिल्लाका साथै पूर्वी जिल्लामा चिनी पठाउँदै आएका छन्। यही क्षेत्रमा पर्याप्त बजार पाए मिलको पनि ढुवानी तथा निर्यात खर्च घट्ने अपेक्षा गरिएको छ।
यस क्षेत्रमा कच्चा पदार्थ उखुको पर्याप्त आपूर्ति नहुँदा चिनी उत्पादन बढाउन नसकिएको भागेश्वर चिनी मिलका सूचना अधिकारी खड्काले बताए। यसपटक एक लाख ८० हजार क्विन्टल चिनी उत्पादन भएकोमा अझै ८० हजार क्विन्टल बिक्रीका लागि बाँकी रहेको उनको भनाइ छ।
२४ भदौ २०८३, बुधवार १२:५६ बजे प्रकाशित














