सुनसरी गोलीकाण्डमा सरकार–पीडित परिवारबीच ६ बुँदे सहमति, मृतकलाई शहीद घोषणा प्रक्रिया अघि बढ्ने

काठमाडौं। सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते भएको गोलीकाण्डका सम्बन्धमा नेपाल सरकार र पीडित परिवारबीच ६ बुँदे सहमति भएको छ। शुक्रबार बिहान गृहमन्त्री सुधन गुरुङ र मृतक ओमप्रकाश मेहता तथा जयप्रकाश मेहताका अभिभावकबीच लिखित सम्झौतामा हस्ताक्षर भएसँगै लामो समयदेखि जारी विवाद समाधानतर्फ अघि बढेको हो।
सहमतिअनुसार सरकारले मृतक दुवैलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउनेछ। साथै, मृतकका परिवारलाई जनही १० लाख रुपैयाँ राहत उपलब्ध गराइनेछ भने प्रत्येक परिवारका एक जना योग्य सदस्यलाई रोजगारीको अवसर प्रदान गरिनेछ।
त्यस्तै, घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइने, देवानगञ्ज–३ स्थित मदरसाको कानुनी हैसियतबारे आवश्यक अनुसन्धान सुरु गरिने तथा छानबिन समितिको प्रतिवेदनका सुझाव कार्यान्वयन गरिने सहमति भएको छ। मृतकद्वयको सम्झनामा स्थानीय सरकारसँग समन्वय गरी उपयुक्त स्थानमा स्मृति पार्क निर्माण गर्ने विषय पनि सहमतिमा समेटिएको छ।
बिहीबार रातभर भएको वार्तापछि शुक्रबार बिहान करिब ५ बजे सहमति जुटेको हो। सहमतिपछि पीडित परिवारले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका छन् भने अस्पतालमा रहेका दुवै मृतकको शव बुझेर आजै दिउँसो अन्त्येष्टि गरिने जनाइएको छ।
१५ साउन २०८३, शुक्रवार १०:२३ बजे प्रकाशित































