नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित

काठमाडौं । सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित भएको छ । बिहीबारै राष्ट्रियसभाबाट बहुमतले पारित भएको सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पनि सर्वसम्मतिले पारित भएको घोषणा गरिएको हो ।

प्रधानमन्त्री बालेन शाह सरकारको नीति तथा कार्यक्रममा जबाफ दिन नआएपछि नेकपा एमालेसहित चार प्रतिपक्षी दलका सांसदहरूले संसद बैठक बहिष्कार गरेका थिए। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूले भने आ-आफ्नो कुर्सीबाट उभिएर विरोध जारी राखेका थिए।

प्रतिपक्षीको निरन्तर विरोध र बहिष्कारबीच प्रतिनिधिसभा बैठकले सर्वसम्मतिबाट नीति तथा कार्यक्रम पारित गरेको हो।

बिहीबारको प्रतिनिधिसभा बैठक बहिष्कार गर्नेमा नेकपा एमालेसहित नेपाली कम्युनिस्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरू छन्।

एमालेबाहेक बाँकी तीन दलले सुरूमै बैठक बहिष्कार गरेका थिए। कांग्रेस र एमालेका सांसदहरूले भने बैठक कक्षमै विरोध जारी राखे।

नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिएका थिए । प्रधानमन्त्री बालेन्द्र शाह सदनमा अनुपस्थित भएपछि अर्थमन्त्रीले जवाफ दिएका हुन् । उनको जबाफ सकिएपछि नेकपा एमालेका सांसदहरूले पनि बैठक बहिष्कार गरेका हुन्। त्यसपछि नीति तथा कार्यक्रममा परेका संशोधन प्रस्तावहरू निर्णयार्थ प्रस्तुत गरिएको थियो।

यसअघि प्रतिपक्षीहरूको विरोधकै कारण संसद बैठक १५ मिनेट स्थगित भएको थियो। सभामुख डिपी अर्यालले प्रधानमन्त्रीले औपचारिक रूपमा आफ्नो तर्फबाट जबाफ दिने जिम्मा अर्थमन्त्रीलाई सुम्पेकाले त्यसको निम्ति तयार हुन सांसदहरूसँग आग्रह गरेका थिए। प्रतिपक्षी सांसदहरू भने प्रधानमन्न्रीको उपस्थितिबिना संसद बैठक चल्न नदिने अडानमा थिए।

 

 

 


३१ वैशाख २०८३, बिहीवार २२:०७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु