धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिँदै
बैतडी । भारतको उत्तराखण्ड प्रदेशको पिढौरागढस्थित धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधका ढोका पुनः खोल्न लागिएको छ । परियोजनाले बाँधमा जमेको सिल्ट सफाइ गर्न ४८ घण्टाका लागि ढोका खोल्न लागेको हो ।
एनएचपिसी लिमिटेड, धौलीगङ्गा पावर स्टेसन भारतबाट प्राप्त पत्रअनुसार असोज १७ गते राति १ः०० बजेदेखि असोज १९ गते राति १ः०० बजेसम्म बाँधका ढोका खुला रहने बैतडीका प्रमुख जिल्ला अधिकारी मीना अर्यालले जानकारी दिइन् । बाँधका ढोका खोलिएको अवधिमा महाकाली नदीको बहाव तथा जलस्तर बढ्न सक्ने सम्भावना रहेकाले तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ ।
सो अवधिमा नदीको बहाव तथा जलस्तर बढ्न सक्ने भएकाले महाकाली नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन तथा नदी किनारमा नजान आग्रह गरिएको प्रजिअ अर्यालले बताइन् । दार्चुलाबाट बैतडी, डडेलधुरा, कञ्चनपुर हुँदै भारततिर बग्ने महाकालीमा पानीको सतह बढ्न सक्ने भएकाले नदी छेउछाउमा नजान प्रशासनले अनुरोध गरेको हो ।
दुई सय ८० मेगावाट विद्युत् क्षमताको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध खोल्नु पूर्व भारतीय पक्षले नेपाली पक्षलाई सतर्कताका लागि जानकारी गराउने गरेको प्रजिअ अर्यालले जानकारी दिनुभयो । सोहीअनुसार नेपालतर्फ आवश्यक सतकर्ता अपनाउने गरिएको हो । यसअघि गत साउन १३ गते पनि धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध खोलिएको थियो ।
१७ असोज २०८३, शनिवार १०:२२ बजे प्रकाशित














