लगानी सम्मेलनले सुदूरपश्चिमको विकासमा टेवा पुग्ने छ : परराष्ट्र मन्त्री डा. आरजु 

धनगढी। सुदूरपश्चिमको आर्थिक विकासमा लगानी सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने परराष्ट्र मन्त्री डा। आरजु राणा देउवाले बताउनु भएको छ । सुदूरपश्चिम प्रदेश सरकारले आयोजना गरेको लगानी सम्मेलनमा सहभागी हुन धनगढी पुग्नु भएकी परराष्ट्र मन्त्री राणाले धनगढी विमानस्थलमा सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिनुहुँदै लगानी सम्मेलनले सुदूरपश्चिमको विकासमा टेवा पुग्ने बताउनु भएको हो ।

उहाँले लगानी सम्मेलनले सुदूरपश्चिममा ठूला विकासका योजनाहरु निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो । उहाँले भन्नुभयो–‘सुदूरपश्चिम प्रदेश सरकारको परिकल्पनामा लगानी सम्मेलनको आयोजना गरिएको छ, जसमा सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्र सरकारका मन्त्रीहरुको सहयोगी भूमिका रहने छ ।’ उहाँले सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सरकारका मन्त्रीहरुले सुदूरपश्चिममा लगानी भिœयाउन भूमिका खेल्नेमा समेत विश्वास व्यक्त गर्नुभयो । सुदूरपश्चिममा लगानीका लागि प्रचुर सम्भावना रहेकाले विभिन्न क्षेत्रबाट निजी लगानीका व्यवसायीहरु र दातृ निकायहरु उत्साहित भएको उहाँले बताउनु भयो ।

उहाँले लगानी सम्मेलनले दातृ निकाय र निजी व्यवसायीलाई सुदूरपश्चिममा भिœयाउन लागेकोमा खुसी व्यक्ति गर्नुभयो । विदेशी लगानीकर्ता र एनआरएनले लगानी गर्नका लागि इच्छा व्यक्त गर्नु सुदूरपश्चिमका लागि सकारात्मक कुरा भएको उहाँले बताउनु भयो । उहाँले पछिल्लो समयमा नेपालमा लगानी गर्नेको संख्यामा वृद्धि हुन थाले पनि सरकारी ऐन कानुनका कारण केही कठिनाई हुने गरेको बताउनुहुँदै मन्त्री राणाले ऐन कानुन परिमार्जन गरी लगानीमैत्री कानुन निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

सुदूरपश्चिममा अथाह जलस्रोत भएको बताउनुहुँदै उहाँले भन्नुभयो–‘यहाँको जलस्रोतको सदूपयोग गरी लगानी गर्न सकेको खण्डमा सुदूरपश्चिम आर्थिक रुपमा समृद्ध हुने निश्चित छ ।’ सुदूरपश्चिममा पर्यटन, जलस्रोत, कृषिका साथै उद्योग क्षेत्रमा लगानी गर्न उहाँले सबै दातृ निकाय तथा निजी क्षेत्रका व्यवसायीलाई आग्रह गर्नुभयो ।

कञ्चनपुरका विपिन जोशीको अवस्थाबारे सञ्चारकर्मीले सोधेको प्रश्नमा परराष्ट्र मन्त्री राणाले हालसम्म अवस्था अज्ञात रहेकाले सकूशलको कामना गर्दै कूटनीतिक पहल जारी रहेको बताउनुभयो ।

सुदूरपश्चिम प्रदेश सरकारले आयोजना गरेको लगानी सम्मेलनमा सहभागी हुन धनगढी पुग्नुभएकी परराष्ट्र मन्त्री राणालगायत सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, मन्त्रीहरु, विदेशी नियोगका अधिकारीहरु र लगानीकर्ताहरुले कञ्चनपुर क्षेत्रको फिल्ड अवलोकन गर्ने कार्यक्रम रहेको छ । अवलोकनका क्रममा दोधरा चाँदनीको सुख्खा बन्दरगाह, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, बेदकोट औद्योगीक क्षेत्र लगायतका क्षेत्रको अवलोकन गरी लगानीका सम्भावनाहरु पहिचान गर्ने कार्यक्रम रहेको सुदूरपश्चिम प्रदेश नीति आयोगका सदस्य नृपबहादुर सुनाले जानकारी दिनुभयो । लगानी सम्मेलनकै क्रममा बुधबार धनगढीमा औपचारिक कार्यक्रम हुने भएको बताइएको छ ।


२० जेठ २०८२, मंगलवार १३:५३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु