रसुवामा उद्धारका लागि १५ भन्दा बढी उडान, टिमुरेबाट ११६ जनाको सकुशल उद्धार

 काठमाडौं।प्रधानमन्त्री बालेन शाहले रसुवालगायतका क्षेत्रमा आएको विपद्का कारण प्रभावित नागरिकको उद्धार तथा राहतका लागि राज्यका सम्पूर्ण संयन्त्र परिचालन गरिएको बताएका छन्।

प्रधानमन्त्री शाहले बिहीबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै बिहान ६ः३० बजेदेखि उद्धारका लागि हवाई उडान सुरु भइसकेको र हालसम्म १५ भन्दा बढी उडान सम्पन्न भएको जानकारी दिएका छन्। थप हेलिकोप्टरहरू समेत उडानका लागि तयारी अवस्थामा राखिएको उनले बताए।

नेपाली सेनाले बिहीबार बिहान सञ्चालन गरेको उद्धार अभियानमार्फत रसुवाको टिमुरेबाट ११६ जनालाई सकुशल उद्धार गरिएको प्रधानमन्त्री शाहले जानकारी दिए। उद्धार गरिएकामध्ये ९५ जना नेपाली र २१ जना भारतीय नागरिक रहेका छन्। यसै क्रममा टनेलबाट सात जना नेपाली नागरिकलाई समेत सफलतापूर्वक उद्धार गरिएको उनले बताए।

प्रभावित क्षेत्रमा अत्यावश्यक सहयोग सामग्री द्रुत रूपमा पुर्‍याउने काम भइरहेको प्रधानमन्त्री शाहले उल्लेख गरेका छन्। प्रभावित स्थलमा जेनेरेटर, पोर्टेबल मोबाइल टावर, मेडिकल सामग्री, टेन्ट तथा फलाम–ढुङ्गा काट्ने मेसिनलगायत सामग्री पठाइँदैछ।

छिट्टै विपद् प्रभावित क्षेत्रमा मोबाइल नेटवर्क तथा मोबाइल चार्जिङको अस्थायी व्यवस्था गरिने जनाउँदै उनले यसबाट प्रभावित नागरिकसँग सम्पर्क स्थापित गर्न सहज हुने बताएका छन्।

त्यस्तै, नुवाकोटमा अस्थायी शिविर तयार पारिसकिएको र त्यहाँ खाना तथा पानीको व्यवस्था गरिएको प्रधानमन्त्री शाहले जानकारी दिएका छन्। ड्रोनमार्फत प्रभावित क्षेत्रको सर्वेक्षण गरी आवश्यक सूचना सङ्कलन गर्ने काम अन्तिम चरणमा पुगेको र प्राप्त सूचनाले उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने उनको भनाइ छ।

प्रधानमन्त्री शाहका अनुसार हेलिकोप्टरमार्फत उद्धार गर्दा सुरुमा सिकिस्त बिरामी, वृद्धवृद्धा, महिला तथा बालबालिकालाई प्राथमिकता दिइनेछ।

उनले विपद्को यस घडीमा प्रभावित नागरिकलाई धैर्य तथा संयम राख्न आग्रह गर्दै उद्धार तथा राहतको प्रतीक्षा गर्न अनुरोध गरेका छन्। साथै, सिङ्गो देश, विश्वभर रहेका नेपाली तथा अन्तर्राष्ट्रिय समुदायको सहयोग र सहकार्यमा विपद्को सामना भइरहेको उल्लेख गर्दै उद्धार तथा राहतमा सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गरेका छन्।

प्रधानमन्त्री शाहले विपद्को सामना गर्न सबै एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन्।


११ भदौ २०८३, बिहीवार १०:५४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु