काठमाडौं-मुग्लिन जोड्ने पृथ्बी राजमार्ग आज दिउँसोसम्म सञ्चालनमा आउने
काठमाडौं । रसुवामा आएको बाढीका कारण अवरुद्ध रहेको काठमाडौं-मुग्लिन जोड्ने पृथ्बी राजमार्ग बिहीबार दिउँसोसम्म सञ्चालनमा ल्याउने तयारीका साथ धमाधम काम भइरहेको छ ।
सडक विभागका उपमहानिर्देशक एवं प्रवक्ता इन्जिनियर शुभराज न्यौपानेका अनुसार राजमार्गमा बाढीले थुपारेको लेदो पन्छाउने काम धमाधम भइरहेकोले बिहीबार दिउँसोसम्म सडक सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ ।
उनले भने, ‘मुग्लिनदेखि गलौंदीसम्म र काठमाडौंदेखि बैरेनीसम्मको सडक क्लियर छ । बैरेनीदेखि गलौंदीसम्मका करिब १३ किलोमिटर सडकका विभिन्न ठाउँमा बाढीले लेदो थुपारेको छ । भारी मात्रामा लेदो थुप्रिएकोले मुनि सडकको अवस्था कस्तो छ भन्ने यकिन गर्न कठिन छ ।
विशेष अवस्था बाहेक आज दिउँसोसम्म सडक सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ ।’ इन्जिनियर न्यौपानेका अनुसार सडकमा थुप्रिएको लेदो हटाउनका लागि गए रातिदेखि नै १५ वटा उपकरण प्रयोग भइरहेको छ । गएराति १० बजेपछि पानी परेकोले काम रोकिएको र आज बिहानैदेखि ती उपकरहरूले धमाधम सडकमा थुप्रिएको लेदो पन्छाउने काम भइरहेको उनले बताए ।
बुधबार भोटेकोशी नदीमा आएको बाढीले पृथ्बी राजमार्गको विभिन्न स्थानमा क्षति गरेको हो ।
११ भदौ २०८३, बिहीवार ०९:३१ बजे प्रकाशित














