गाडी नचलेपछि सर्वसाधारणको बेहाल
धनगढी। सार्वजनिक यातायातका साधनहरू नचलेपछि आ–आफ्नो गन्तव्यतर्फ आवतजावत गर्दै गरेका यात्रीहरूको धनगढीमा बेहाल भएको छ । सुदूर पहाडका विभिन्न जिल्लामा जाने यात्रीहरू झन् धेरै मारमा छन् । तराईकै पनि विभिन्न गन्तव्यमा जाने यात्रीहरूको अवस्था पनि उस्तै छ । डोटीको बोगटान घर फर्किने क्रममा चक्रबहादुर खड्कासहित पाँच जनाको समूह सोमबारदेखि धनगढीमा बस चल्ने आशामा पर्खिरहेको छ । भारतको राजस्थानबाट आएका उनीहरूले यातायात बन्दका कारण कुलपूजाको काम छुट्न थालेको बताए ।
भरतकै रत्नागिरीबाट घर आउँदै गरेका टीकापुरका रामप्रसाद चौधरीसहित दस जनाको समूहले पनि आफूहरू यातायातका साधन नपाएर सोमबारदेखि धनगढीमा बसपार्कमा तनावमा बस्नु परेको बताए । ‘जिप खोजेर भएपनि जाने विचार गर्दा एक हजार रुपैयाँ भाडा लाग्छ भन्छन्,’ चौधरीले भने, ‘धनगढीदेखि टीकापुर पुग्न बस भाडा तीन सय रुपैयाँ मात्र लाग्थ्यो ।’ सुदूरपश्चिमका पहाडी जिल्लाहरू अछाम, बझाङ, डडेल्धुरा, डोटी, बैतडी, दार्चुला र बाजुरा जाने सयौँ यात्रीहरू पनि धनगढी बसपार्कमा अलपत्र अवस्थामा छन् । धेरैजसोले आफूहरूसँग खर्च सकिएर समस्यामा पर्न थालेको बताए । धनगढी बसपार्कका काउन्टरहरू बन्द रहेका छन् ।
प्रदेश ट्राफिक कार्यालयका डीएसपी टेक जोराले सुदूरपश्चिमभरि सार्वजनिक यातायातका साधनहरू ठप्प रहेको बताए ।
२० जेठ २०८२, मंगलवार १४:४८ बजे प्रकाशित













