जेठ २० र २१ गते लगानी सम्मेलनको प्रि–समिट गर्दै सुदूरपश्चिम सरकार
धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले असोजमा आयोजना गर्न लागेको लगानी तथा विकास सम्मेलनका लागि पूर्वतयारीस्वरूप प्रि–समिट गर्ने भएको छ।
प्रदेश सरकारले उक्त सम्मेलनको तयारीको स्वरूप यहीँ जेठ २० र २१ गते दुई दिवसीय प्रि–समिट कार्यक्रम आयोजना गर्न लागेको हो। मुख्यमन्त्री कमलबहादुर शाहले धनगढी सोमबार पत्रकार सम्मेलन गरी सो बारेमा जानकारी दिएका हुन्।
प्रमुख अतिथिको रूपमा परराष्ट्रमन्त्री डा.आरजु राण देउवाबाट सम्मेलनमा सम्वोधन हुने कार्यक्रम रहेको छ। यसका साथै वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही, संस्कृत, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रीप्रसाद पाण्डे, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको पनि उपस्थिति रहनेछ।
कार्यक्रममा योजना आयोगका पूर्व सदस्य र लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी निर्देशक सुशील भट्टले मुख्य वक्ताका रुपमा प्रस्तुति गर्ने जनाइएको छ। लगानी बोर्डको भूमिका, सार्वजनिक निजी साझेदारी विषयमा लगानी बोर्डका प्रमुख कार्यकारी निर्देशक सुशील ज्ञवालीले आफ्नो प्रस्तुति राख्नेछन्।

१९ जेठ २०८२, सोमवार १८:५७ बजे प्रकाशित













