सुदूरपश्चिम प्रदेश स्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जेठ २४, २५ गते हुने

धनगढी। सुदूरपश्चिम प्रदेश स्तरीय १५ राष्ट्रपति रनिङ शिल्ड यही जेठ २४ , २५ गते धनगढीमा हुने भएको छ। सुदूरपश्चिम खेलकुद परिषदले आज सुचना निकालेर ९ ओटै जिल्ला(डोटी, डडेल्धुरा, कैलाली, कञ्चनपुर, बझाङ, बाजुरा, बैतडी, अछाम र दार्चुला)लाई परिपत्र गरेको छ ।
खेलकुद परिषदका प्रशासकिय अधिकृत टोप वहादुर बिष्टको हस्ताक्षरित पत्रमा आगामी राष्ट्रिय स्तरको १५औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागीताको लागि प्रदेश स्तरीय प्रतियोगिता सम्पन्न गरेर खेलाडी छनौट गरिने जानकारी पत्रमा उल्लेख गरेका छन्। राष्ट्रिय स्तरको १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जेठ २८, २९ र ३० गते काठमाडौंमा सञ्चालन हुने गरि तय भएको छ।
सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का अनुसार, प्रदेश स्तरीय छनोट प्रतियोगिता यही जेठ २४ र २५ गते कैलाली जिल्लामा सञ्चालन गरेर , प्रतियोगिताबाट छानिएका खेलाडीहरूले नै राष्ट्रिय स्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्डमा प्रदेशको प्रतिनिधित्व गर्नेछन्।
राष्ट्रिय स्तरको १५ राष्ट्रपति रनिङ शिल्डको मिति नजिकिँदै गर्दा समेत प्रदेश सरकार र खेलकुद परिषदले नजरअन्दाज गरेको जस्तो देखिए पछि प्रदेश खेलकुद महासंघ र कैलाली जिल्लाका ६ ओटा खेलकुद संघका पदाधिकारीहरुले प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाह र सामाजिक विकास मन्त्री मेघराज खड्कालाई हिजो (जेठ १८) भेटेर ध्यानाकर्षण गराएका थिए।
अहिले सुदुरपश्चिम प्रदेशको खेलकुद परिषदमा सदस्य सचिव लगायतका पदाधिकारीहरु समेतको नियुक्ति गर्न बाँकी रहेको छ ।
सुदूरपिश्चम प्रदेश खेलकुद महासंघ र कैलाली जिल्ला खेलकुद संघका पदाधिकारीहरुले भने प्रदेश सरकार र सुदूरपश्चिम खेलकुद परिषदलाई धन्यवाद दिएका छन्।
१९ जेठ २०८२, सोमवार १६:३९ बजे प्रकाशित