पत्रकार महासंघ कैलाली शाखाले कानुनमन्त्री र पर्यटनमन्त्रीलाई बुझायो मागपत्र

धनगढी। नेपाल पत्रकार महासंघ कैलाली शाखाले सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हीरासिंह सार्की र उद्योग,पर्यटन,वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीलाई मागपत्र बुझाएको छ । सञ्चार क्षेत्रका विभिन्न माग राख्दै महासंघका कैलाली शाखाका अध्यक्ष श्रवण देउवालगायतको टोलीले सोमबार मागपत्र बुझाएको हो ।

महासंघले कानुनमन्त्री सार्कीलाई ७ बुँदे मागपत्र बुझाएको छ । मन्त्रालयले दिदै आएको लोककल्याणकारी विज्ञापनको बजेट बढाउनु पर्ने,लोककल्याणकारी विज्ञापनका लागि सञ्चार माध्यमले अनलाइनबाटै आवेदन दिने व्यवस्था गर्नुपर्ने,लोककल्याणकारी विज्ञापन दिँदा अपाङ्गता, अल्पसंख्यक तथा महिला श्रमजीवी पत्रकारले सञ्चालन गरेका सञ्चार माध्यमलाई प्राथमिकता दिनुपर्ने मागपत्रमा उल्लेख छ ।

त्यस्तै,सुदूरपश्चिममा प्रेस रजिष्टारको कार्यालय यथाशीघ्र स्थापना गर्नुपर्ने,मिडिया सम्बन्धि विधेयकसहित सञ्चारसँग सम्वद्ध कानुनहरु पत्रकार महासंघलगायत सरोकारवालासँग छलफल तथा परामर्श गरेर ल्याउन,पत्रकारहरुका लागि स्वास्थ्य बीमा व्यवस्था,प्र्रदेश मातहतका अस्पतालमा कम्तीमा ५० प्रतिशत उपचारमा छुट दिने व्यवस्था मिलाउन माग गरिएको छ ।

मागपत्रमा भनिएको छ ‘पत्रकारहरुको पेशागत सीप, क्षमता विकास तथा फेलोसिपका कार्यक्रमहरु बजेटमा समावेश गर्न,पत्रकार महासंघ कैलाली शाखामा सञ्चार कक्ष स्थापना गर्न तथा महासंघको भौतिक पूर्वाधार विकासका लागि बजेटको व्यवस्था गरिदिन आग्रह गर्दछौं ।’ मागपत्र बुझ्दै मन्त्री सार्कीले आफू पत्रकारका मागमा सकारात्क रहेको र सक्ने सहयोग गर्ने प्रतिक्रिया दिए ।

त्यस्तै महासंघले पर्यटनमन्त्री चौधरीलाई तीन बुँदे मागपत्र बुझाएको छ । पर्यटकीय क्षेत्रको प्रवद्र्धन हुने गरी पर्यटनका विषयमा पत्रकारहरुलाई फेलोसिपको व्यवस्था गर्नुपर्ने,पत्रकारहरुका लागि पर्यटन तथा पर्यावरणका विषयमा क्षमता विकास तालिम लगायतका कार्यक्रम बजेटमा समावेश गरिनुपर्ने र पर्यटन प्रवद्र्धनका कार्यक्रमहरुमा महासंघसँग समन्वय गर्नुपर्ने माग गरिएको छ । मागपत्र बुझ्दै मन्त्री चौधरीले माग सम्बोधन गर्न आफू सकारात्क रहेको बताए ।

मागपत्र बुझाउने कार्यक्रममा महासंघका कैलाली शाखाका उपाध्यक्ष विराज रोस्यारा,सचिव तेजराज भट्ट,प्रेस युनियन कैलालीका अध्यक्ष सिताराम ओझा,प्रेस सेन्टर कैलालीका अध्यक्ष सुरेन्द्र ताम्राकार,आदिवासी जनजाति पत्रकार महासंघ कैलालीका अध्यक्ष राम दहित,श्रमजीवि पत्रकार संघ कैलालीका कोषाध्यक्ष पुष्कर पौडेललगायत उपस्थिति रहेको थियो ।


१९ जेठ २०८२, सोमवार १६:३६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु