हावाहुरीले चौरपाटीमा दर्जनौँ घरका छाना उडे,र विद्युत सेवा ठप्प
अछाम । अछामको चौरपाटी गाउँपालिकामा सोमबार दिउँसो आएको भीषण हावाहुरीले ठूलो भौतिक क्षति पुर्याएको छ । अपरान्हतिर एक्कासि वर्षासहित चलेको तीव्र हावाहुरीले दर्जनौँ घरका छानाहरू उडाएको हो ।
गाउँपालिकाका विभिन्न वडाहरूमा हावाहुरीले क्षति पुर्याएको र घरटहरा, विद्यालय, टिनका छाना, गोठ लगायत संरचनामा क्षति पुगेको प्रारम्भिक विवरण आएको प्रहरीले जनाएको छ ।
चौरपाटी गाउँपालिकाको वडा नम्बर १, २, ४ मा बढी क्षति भएको बताइएको बताइएको छ । तर पनि प्रहरी कहाँ यकिन तथ्याङ्क आइपुगेको छैन । यता प्रहरी चौकी सिउँडीका अनुसार मानविय क्षति नभएपनि भौतिक क्षति भएको छ ।
क्षतिको विस्तृत विवरण संकलन गर्ने कार्य सुरु गरिएको बताइएको छ । वडा नम्बर ४ मा सल्लाका २ वटा रुख चौपायामाथि ढलेका थिए । जसमा भैंसी दुईवटा र १ राँगा घटनास्थलमै मरेका छन् ।
एक राँगा भने घाइते भएको बताइएको छ । यस्तै पायल कै धन बहादुर भुलको जुत्ता पसल पनि हावाले उटाएको छ । उनको कुटानी पिसानीको मिलको सामानहरूमा क्षति पुगेको पनि बताइएको छ ।
चौरपाटीमा वर्षापछि सडकहरु अवरुद्ध भएका छन् भने स्थानीय विजुली विहीन बनेका छन् । यता जिल्ला प्रहरी कार्यालय अछामका अनुसार जिल्ला अन्य स्थानमा पनि हावाहुरीले घरका छाना उडाएको छ ।
५ जेठ २०८२, सोमवार २२:२५ बजे प्रकाशित













