चन्द्रागिरिका एक युवकले गरे फेसबुक लाइभमा आत्मदाहको प्रयास, किर्तिपुर बर्न अस्पतालमा उपचार हुँदै
काठमाडौँ । काठमाडौँको चन्द्रागिरिमा एक युवकले फेसबुक लाइभमा आएर आत्मदाहको प्रयास गरेका छन् । उनलाई उद्धार गरी अस्पताल पुर्याइएको छ ।
गएराति साढे १२ बजेतिर स्थानीय उत्तम कार्कीले फेसबुकमा लाइभ गरी आफ्नो शरीरमा आफैं आगो लगाएका थिए । यो घटना थाहा पाएपछि पुगेको प्रहरीले उनलाई उद्धार गरी अस्पताल पुर्याएको हो ।
काठमाडौं प्रहरी परिसर प्रवक्ता अपिल बोहराका अनुसार उनको उपचार कीर्तिपुरको बर्न अस्पतालमा भइरहेको छ । उनको हात र अनुहार जलेको छ भने स्वास्थ्य अवस्था सामान्य रहेकोछ ।
उनले फेसबुक लाइभमा स्थानीय एक युवतीले मानसिक तनाव दिएको, उनकै कारण आफू पक्राउ परेको, पारिवारिक र सामाजिक सम्बन्ध बिथोलिएको, प्रहरीले आफ्नो कुरा नसुनेको र यी सबै कारणले कान नसुन्ने बुवा र आँखा नदेख्ने आमाले दुःख पाएको भन्दै अब बाँच्न नसक्ने बताएका थिए ।
उनले दुःख दिएको भनिएकी युवतीको उजुरीको आधारमा यसअघि १८ दिन हिरासतमा बसेको र अभद्र व्यवहार मुद्दा खेपेको उल्लेख गरेका छन् । त्यसपछि उनी आफैंले आफ्नो शरीरमा आगो लगाएका थिए ।
२८ फागुन २०८१, बुधवार १०:४८ बजे प्रकाशित













