कोरोना महामारीकैबीच फेरि भारत जाँदै नेपाली
दिनेश बिष्ट
धनगढी, साउन २३ । कोरोना भाइरस संक्रमणले भारतमा भयाभह अवस्था सिर्जना भइरहेका बेला नेपालीहरु फेरि त्यसतर्फ जान थालेका छन् । भारतमा कोरोना संक्रमण बढेको भन्दै केही महिनाअघि स्वदेश फर्केकाहरु अहिले फेरि उतै जान लागेका हुन् ।
आयस्रोत नै नभएको भन्दै रोजगारीका लागि केही नेपालीहरु भारत जान लागेका छन् । रोजगारीको शिलसिलामा भारत रहेका अधिकाशं नेपालीहरु कोरोना महामारीका कारण स्वदेश फर्किरहेका बेला केही नेपालीहरु त्रासकैबीच पनि रोजगारीका लागि भारत जान थालेका हुन् ।
नेपालीहरुका लागि भारत जान नाका बन्द रहेपनि आधार कार्डका आधारले उनीहरु भारत गइरहेका हुन् । अहिले कैलालीको त्रिनगर नाका भएर मात्रै दैनिक एक सयदेखि तीन सयसम्म नेपालीहरु भारत जान थालेका छन् ।
कोरोना महामारी सुरु भए यता सुदूरपश्चिमका विभिन्न नाका हुँदै अढाई लाख नागरिक स्वदेश भित्रिएका छन् । उनीहरु कोरोना त्रासकै कारण ज्यान जोखिममा राखेर स्वदेश फर्किएका हुन् । तर, अझै ज्यानै जोखिममा राखेर तिनैमध्यको केही नागरिक भारततर्फ गइरहेका हुन् ।
हाल कैलालीको त्रिनगर नाकाबाट स्वदेश आउने र भारत जानेको संख्या बराबर छ । अहिले दैनिक एक सयदेखि तीन सय नागरिक भारतबाट आउने र भारत जाने गरेका छन् । कैलालीको त्रिनगर नाकाबाट मात्रै करिब डेढ लाख नागरिक स्वदेश फर्किएका छन् । उनीहरु कोरोना त्रासकै कारण स्वदेश फर्र्किएका हुन् । बिगतमा भारत फर्किने भारतीय नागरिकनै रहेपनि हाल नेपाली नागरिक रोजगारीका लागि भारत पस्ने क्रम बढेको त्रिनगर नाकाका हेल्थ डेस्क प्रमुख दिनेश ठकुल्लाले बताए ।
भारतमा कोरोनाले दैनिक नयाँ रेकर्ड कायम गरिरहेपनि घर खर्च चलाउनकै लागि नेपाली नागरिक भारत जान थालेको पाइएको उनले बताए । यसरी भारत जाने नेपालीहरुलाई काम गर्ने क्षेत्रको मालिकले भारत प्रवेश पास बनाइदिएपछि उनीहरु भारत जान थालेका हुन् । घरमा बसेर खर्च चलाउनै मुस्किल परेपछि रोजगारीका लागि फेरि विदेशिनु परेको भारत जान लागेका रतन बिसीले बताए । उनले सरकारले स्वदेशमै रोजगारी श्रृजना गर्न नसक्दा कोरोना त्रासकैबीच भारत पस्नुपरेको उनको दुखेसो छ ।
रोजगारीका लागि भारत जाने नागरिक एकातिर छन् भने कोरोना त्रासले स्वदेश फर्किने नागरिक पनि उत्तिकै छन् । अहिले पनि एकै दिन एक सयदेखि तीन सयसम्मको हाराहारीमा कैलालीको त्रिनगर नाकाबाट नेपालीहरु स्वदेश फर्किरहेका छन् । सुरुवाती चरणमा सहजै स्वदेश फर्किन नपाएपछि उनीहरु अहिले फर्किरहेका हुन् । भारतमा कोरोनाले महामारी फैलाएपछि मुम्बैबाट स्वदेश फर्किएको कैलालीका दुर्गा भण्डारीले बताए ।
अहिले भारतबाट स्वदेश फर्किरहेका नागरिकहरुलाई पनि अहिले संस्थागत क्वारेन्टाइन पठाउने काम रोकिएको छ । उनीहरु सोझै घर जान थालेका छन् । जसले गर्दा कोरोना संक्रमणको जोखिम झन बढेको छ । नाकामै अटो रिक्सा तथा बसले उनीहरुलाई गन्तब्यतर्फ पु¥याउने र सोही सवारी साधनले अन्य ब्यक्तिहरुलाई समेत बोक्ने हुँदा संक्रमणको जोखिम बढेको स्थानीयबासी बताउँछन् ।
२३ साउन २०७७, शुक्रवार १४:४९ बजे प्रकाशित













