रास्वपा कार्यकर्ताले गरे वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको विपक्षमा बहस गरेका कानुन व्यवसायीमाथि अदालत परिसरमा आक्रमण भएको छ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि बुधबार अपरान्ह काठमाडौं जिल्ला अदालत बाहिर लामिछानेका समर्थकहरूले आक्रमण गरेका हुन्।
जवाफी बहस सकेर अदालत बाहिर संचारकर्मीसँग बोलिरहेका बेला रास्वपा तथा लामिछानेका समर्थकहरूले आक्रमण गरेका हुन्। धकेलाधकेलको अवस्थापछि प्रहरीले वरिष्ठ अधिवक्ता त्रिपाठीलाई भीडबाट जोगाएर सुरक्षित स्थानमा लगेको थियो।
थुनछेक आदेशको पर्खाइमा रहेको आक्रोशित भीडले रवि लामिछानेको विरुद्धमा बहस गरेको भन्दै ‘ठोक्… ठोक्…’ र ‘हान्… हान्…’ भन्दै त्रिपाठीलाई घेरेका थिए। वरिष्ठ अधिवक्ता त्रिपाठीले सहकारी पीडितका तर्फबाट बहस गरेका थिए। उनी कास्की जिल्ला अदालत पनि पुगेर बहस गरेका थिए।
लामिछानेविरुद्धको मुद्दामा काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस सकिएको छ। अदालतले लामिछानेलाई ६० लाख धरौटी छोड्न आदेश दिएको छ।
२ माघ २०८१, बुधवार १७:३५ बजे प्रकाशित













