दक्षिण कोरियाका राष्ट्रपति पक्राउ

काठमाडौँ । महाभियोगको सामना गरिरहेका दक्षिण कोरियाका राष्ट्रपति युन सुक-योललाई प्रहरीले पक्राउ गरेको छ।

महाभियोग लगाइएका राष्ट्रपति योललाई डिसेम्बर ३ मा गरिएको सैनिक शासन घोषणासँग सम्बन्धित विद्रोहको आरोपमा पक्राउ गरिएको हो । अनुसन्धानकर्ताहरूका अनुसार यो घटनालाई महत्त्वपूर्ण राजनीतिक संकटका रूपमा हेरिएको छ।

युनले डिसेम्बर ३ मा सैनिक शासन लागू गर्ने प्रयास गरेपछि उनीमाथि विद्रोहको आरोपमा अनुसन्धान भइरहेको थियो। यसअघि जनवरीको सुरुमा गरिएको पक्राउ प्रयास असफल भएको थियो। पहिलो प्रयासमा पक्राउ असफल भएपछि अदालतले पक्राउ पुर्जीको म्याद थप गरेको थियो।

यस घटनाले दक्षिण कोरियामा राजनीतिक संकट निम्त्याएको छ। संवैधानिक अदालतले युनको महाभियोगको वैधता निर्णय गर्न भने बाँकी नै छ। युनको कानुनी टोलीले आरोपहरूलाई आधारहीन र गैरकानूनी भनेको छ र सैनिक शासन घोषणा राष्ट्रको सुरक्षाका लागि गरिएको दाबी गरेको छ।

उनलाई पक्राउ गर्न प्रहरी आएको खबर सुनेपछि उनका समर्थक र विरोधीहरू युनको निवास बाहिर भेला भएका थिए। उनका समर्थकहरूले युन सुक-योललाई पक्राउ गर्न नदिनलाई अनेक प्रयास गरिरहेका जनाइएको छ ।

डिसेम्बर १४ मा युन सुक-योल विरुद्धको महाभियोग प्रस्ताव संसदमा पारित भएको थियो। डिसेम्बर ३१ मा दक्षिण कोरियाली अदालतले युनलाई पक्राउ गर्न वारेन्ट जारी गरेको थियो।


२ माघ २०८१, बुधवार ०८:३४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु