भिजिट भिसामा ओमान पुर्‍याई मानव बेचबिखन गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा ओमान पठाईदिने प्रलोभन देखाई भिजिट भिसामा ओमान पुर्‍याई मानव बेचबिखन गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले रूपन्देही रोहिणी गाउँपालिका–४ ठेगाना भएका ५१ वर्षीय समसुद्दिन खाँ पठानलाई पक्राउ गरेको हो ।

पीडितको आफन्तको उजुरीको आधारमा आमानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई काठमाडौं टोखा नगरपालिका–९ शिबचोकबाट पक्राउ गरेको हो ।

पठानले फ्रि भिसा र फ्रि टिकटमा ओमानमा मासिक ४० हजार रूपैयाँ पारिश्रमिक हुने प्रलोभन देखाई भारतको मुम्बई हुँदै पीडितलाई २०७९ चैत ९ गते भिजिट भिसामा ओमान पुर्‍याएर ओमानी नागरिकको घरमा पुर्‍याई बेचबिखन गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।

उक्त ब्यूरोको पहलमा पीडितलाई वैशाख १८ गते नेपाल फिर्ता ल्याइएको छ । उनीमाथि मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

साथै घटनामा संलग्न अन्य व्यक्तिहरूको समेत खोजी भइरहेको प्रहरीले जनाएको छ ।


७ जेठ २०८१, सोमवार १६:२१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु