बैतडीमा सोमबार दिउँसोदेखि विद्युत सेवा अवरुद्ध
बैतडीमा सोमबार दिउँसोदेखि विद्युत सेवा अवरुद्ध भएको छ। पानीसंगै आएको हावाहुरीले विद्युत लाइनमा क्षति पुर्याएकाले विद्युत सेवा अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रले जनाएको छ ।
सोमबार पानीसंगै आएको हावाहुरीले विद्युत लाइनमा क्षति भएको र तर कुन ठाउँमा क्षति भएको हो एकीन हुन भने बाँकी रहेको नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख पवन भट्टले बताए। बलाँचदेखि सञ्चालन हुने र डडेल्धुराबाट सञ्चालन हुने दुवै विद्युत लाइनमा समस्या रहेको उनले बताए।
विद्युत लाइनमा देखिएको समस्या पत्ता लगाउन र समस्या समाधान गर्न प्राविधिक टोली खटिएको भट्टले जानकारी दिए। आज दिउँसो सम्म विद्युत सेवा सुचारु हुन सक्ने उनले बताए। विद्युत सेवा अवरुद्ध भएपछि हजारौं ग्राहक समस्यामा परेका छन्।
१९ भदौ २०८०, मंगलवार १२:०१ बजे प्रकाशित































