बाढीपहिरो प्रभावित क्षेत्रको अनुगमनमा पुग्यो मुख्यमन्त्री शाहसहितको टोली
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहसहितको टोलीले बाढीपहिरो प्रभावित क्षेत्रको निरिक्षण गरेको छ ।
मुख्यमन्त्री शाहसहितको टोलीले मंगलवार भीमदत्त राजमार्ग अन्तरगतको पहिरो प्रभावित क्षेत्रका साथै गोदावरी नदीले कटान गरेको गोदावरी धाम क्षेत्रको निरीक्षण गरेको हो ।
निरिक्षणका लागि पुगेको टोलीमा मुख्यमन्त्री शाह, भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश बहादुर देउवा, आन्तरिक मामिला तथा कानूनमन्त्री शिवराज भट्ट, गोदावरी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र भट्ट, प्रदेशसभा सदस्यहरु तुलसी देवकोटा, जानकी कुवर र खेमादेबी बिष्ट रहेका थिए ।

टोलीले पहिरोले प्रभावित भावर टोलको समेत निरिक्षण गरेको छ ।

सोमबार राती देखि परेको बर्षाका कारण पहिरो जांदा भीमदत्त राजमार्गको बुढीतोला लगायतका सडकहरु अवरुद्ध छन् ।
भीमदत्त राजमार्ग सुदूरपश्चिमका सात पहाडी जिल्लालाई तराइसँग जोड्ने राजमार्ग हो ।
मुख्यमन्त्री शाहले चाँडै पहिरोले अबरुद्ध सडक सुचारु गर्न सरोकारवालाहरुलाई निर्देशन पनि दिएका छन्।
२३ साउन २०८०, मंगलवार २३:३६ बजे प्रकाशित













