सडकको ३० मिटर क्षेत्र भित्रका अवैध संरचना खाली गर्न शुक्लाफाँटा नगरपालिकाले जारी गर्यो सूचना
कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले ३ दिन भित्र सडकको ३० मिटर क्षेत्र भित्र रहेका अवैध संरचना खाली गर्न सूचना जारी गरेको छ। नगरपालिकाले सोमबार एक सूचना जारी गर्दै सडक क्षेत्र भित्रका अवैध संरचना खाली गर्न सर्वसाधारणलाई अनुरोध गरेको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतद्धारा जारी सूचनामा कलुवापुर चोक देखि दक्षिण बन्साह तर्फ ८०० मिटर लम्बाइ सडकको ३० मिटर क्षेत्र खालि गर्न भनिएको छ।
बेलोरी– कलुवापुर– नायल – वुडरू सडक खण्ड अन्तर्गतको उक्त क्षेत्रका संरचना हटाउन नगरपालिकाले यसअघि असार ३१ गते पनि सूचना जारी गरको थियो।
नगरपालिकाले पहिलो पटक सूचना जारी गर्दा पनि सडक अधिकार क्षेत्रमा हाल सम्म पनि संरचनाहरु नहटाइएकाले ३ दिन भित्र हटाउन अन्तिम पटक समय दिएको जनाएको छ।
तोकिएको समयावधि भित्र सडक क्षेत्र खालि नभएमा नगरपालिका लगायत सम्बन्धित निकाय उक्त संरचना हटाउन वाध्य हुने सूचनामा उल्लेख गरिएको छ।

२३ साउन २०८०, मंगलवार २२:४९ बजे प्रकाशित













