कोशी प्रदेशका विभिन्न जिल्लामा बाढी–पहिरोको वितण्डा, भौतिक र मानवीय क्षति

मनसुन सुरु भएसँगै कोशी प्रदेशका विभिन्न स्थानमा बाढी तथा पहिरोले वितण्डा मच्चाएको छ । पाँचथर, ताप्लेजुङ, संखुवासभासहितका जिल्लामा बाढी तथा पहिरो गएको हो । जसका कारण मानवीय र भौतिक क्षति भएका छन् ।

बाढीले पाँचथरमा ६ जना बेपत्ता भएका छन् । जिल्लाको हेवा खोलामा आएको बाढीले फिदिम र फालेलुङमा गरी ६ जना बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार थप दुई जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी हरि खतिवडाले बेपत्ताहरूको खोजी भइरहेको बताए ।

बाढीले मेची राजमार्गअन्तर्गत पाँचथर र ताप्लेजुङ जोड्ने हेवा खोलाको पुल समेत बगाएको छ ।

यसैगरी ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित मेहेलेमा पहिरोले घर बगाउँदा एकै परिवारका तीन जना बेपत्ता छन् । स्थानीय कमल कडरियाका अनुसार पहिराले यादव बुढाथोकीको घर बगाउँदा यादवकी श्रीमती भगीमाया, बुहारी सन्ध्या र नाति प्रज्वल बेपत्ता छन् । यस्तै मेहेलेकै भरत तामाङसमेत बेपत्ता भएका छन् । ​

यसैगरी अबिरल वर्षासँगै आएको बाढीले ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित आङ्खोपमा तीन घर बगाएको छ । गए राति इङ्वाखोलामा आएको बाढीले प्रेम सेलिङ, महेश्वर सेलिङ र गणेश सेलिङको घर बगाएको स्थानीय शिक्षक चैतन्य बुढाथोकीले जानकारी दिए ।

संखुवासभाको हेँवा खोलामा आएको बाढीले बगाएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेको सनाखत हुन सकेको छैन ।
यसैगरी चैनपुर ४ मा निर्माणाधीन सुपर हेँवा हाइड्रोमा काम गर्ने १६ मजदुरहरू सम्पर्कविहीन भएका छन् ।


३ असार २०८०, आइतवार ०९:३१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु