तिंकरमा पहिलो पटक कार्यपालिका बैठक
कालापानीमुनिको बस्ती तिंकरमा पहिलो पटक व्याँस गाउँपालिकाले कार्यपालिका बैठक राखेको छ।
त्यस क्षेत्रका स्थानीयसँग साक्षात्कारका साथै छाङरु तिंकरबासीको पीडा सुन्ने उद्धेश्यले कार्यपालिका बैठक तिंकरमा राखिएको गाउँपालिकाका प्रवक्ता उपेन्द्र धामीले जानकारी दिए ।
‘कतिपय कार्यपालिका सदस्य पनि तिंकर, छाङरु पुगेको अवस्था थिएन, उहाँहरुलाई त्यहाँको अवस्थामा देखाउनका साथै स्थानीयसँग साक्षात्कारका लागि बैठक राखेका हौँ,’ उनले भने।
तिंकरमा राखिएको गाउँपालिकाको २० औँ कार्यपालिका बैठकमा कार्यपालिकाका १२ जना सदस्य सहभागी थिए।
नेपाली भूमिमा चाँडो बाटो निर्माण गरेर भारतको बाटो प्रयोग गर्नु पर्ने बाध्यता हटाउनु पर्ने स्थानीयले जनप्रतिनिधिसँग माग गरेका थिए।
कार्यपालिका बैठकले बन्द रहेको ताक्लाकोट नाका खोल्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ। कोरोना महामारीपछि चीनसँग जोडिएको ताक्लाकोट नाका बन्द रहेको छ।
‘अरु सबै नाका खुलेपनि ताक्लाकोट नाका अझै खुलेको छैन, हामीले केही महिनाअघि काठमाडौँ गएर नाका खोल्न माग गरेका थियौँ,’ गाउँ प्रवक्ता धामीले भने, ‘नाका खोल्न फेरि सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेका छौँ।’
यस्तै, छाङरु र तिंकर जोड्ने नेपाली भूमिमा चाँडै बाटो निर्माणको लागि पालिकाले पहल गर्ने निर्णय गरेको छ। यसपटक सरकारले ४५ करोड मात्रै बजेट विनियोजन गरेको छ।
‘छाङरु तिंकर जोड्न बाटो निर्माणका लागि यसपटक बजेट कम विनियोजन गरिएको छ,’ धामीले भने, ‘यसरी बाटो पुग्न वर्षौ लाग्ने देखिन्छ, निकट भविष्यमै बाटो पुर्याउन दबाब दिन्छौँ।’
त्यहाँका सौका समुदायले उत्पादन गर्ने स्थानीय घरेलु मदिरालाई व्यवस्थित गर्न र वैधानिकताका लागि सम्बन्धित निकायसँग पहल गर्ने कार्यपालिकाले निर्णय गरेको छ। २५ गते भारतसँग अनुमति मागेर कार्यपालिकको टोली छाङरु र तिंकरतर्फ गएको थियो।
२८ जेठ २०८०, आइतवार ०५:१७ बजे प्रकाशित













