सुदूरपश्चिममा पूर्व प्रदेश सभा सदस्य मञ्च गठन,संयोजकमा थापा

कैलाली । सुदूरपश्चिम प्रदेश सभाका पूर्व सांसदहरू एकीकृत बन्ने भएका छन् । आज पूर्व प्रदेश सभा सदस्यहरूको भेलाले पूर्व सभामुख अर्जुन बहादुर थापाको संयोजकत्वमा १३ सदस्यीय पूर्व प्रदेश सभा सदस्य मञ्चको तदर्थ समिति गठन गरिएको छ ।

आजको भेलाले मञ्चको विधान पारित गरेको पूर्व प्रदेश सभा सदस्य पूर्णा जोशीले जानकारी दिइन् । पूर्व प्रदेश सभा सदस्य हर्क बहादुर कुवरको संयोजकत्वमा गठन गरिएको समितिले विधानको मस्यौदा तयार गरेको थियो । उक्त समितिको सदस्यमा पूर्णा जोशी र दुर्गा विक रहेका थिए ।

उक्त समितिले तयार पारेको विधान आज पारित गरिएको हो । पूर्व प्रदेश सभा सदस्य मञ्चलाई आइतबार अन्तिम रूप दिने तयारी गरिएको छ । मञ्चको ७ सदस्यीय सल्लाहकार समिति समेत गठन गरिएको छ । जसको संयोजक पूर्व मुख्यमन्त्री त्रिलोचन भट्ट रहेका छन् ।

संविधानको रक्षा र व्यवस्था बलियो बनाउने उद्देश्यले मञ्च गठन गरिएको जोशीले जानकारी दिइन् । ‘संविधान जोगाउन हामी एकीकृत भएका हौँ ’ उनले भनिन् ‘संविधानको रक्षा र प्रदेश सभाले बनाएका कानुन कार्यान्वयन गराउन पनि हामी भूमिका खेल्ने छौँ । ’


२६ जेठ २०८०, शुक्रवार १९:४२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु