बैतडी पुगेर उद्योग मन्त्री भण्डारीले भने -गौरवका आयोजनालाई सरकारको प्राथमिकता
उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री दामोदर भण्डारीले गौरवका आयोजना अहिलेको सरकारको प्राथमिकतामा रहेको बताएका छन्। प्रेस चौतारी बैतडीले आइतबार सदरमुकाममा गरेको पत्रकार सम्मेलनमा उनले सुदूरपश्चिममा रहेका गौरवका आयोजनालाई प्राथमिकता राखेर काम भइरहेको दावी गरेका हुन्।
सरकारको प्राथमिकताअनुसार कञ्चनपुर(दैजी–छेला औद्योगिक क्षेत्रको काम अघि बढेको, दोधारा–चाँदनी सुक्खा बन्दरगाह अगाडि बढाइरहेको उनले बताए। कैलालीको गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने महत्त्वपूर्ण निर्णय भएको दाबी गरे।
नेकपा एमालेको सुदूरपश्चिम प्रदेश अध्यक्षसमेत रहनुभएका मन्त्री भण्डारीले सरकारले औद्योगिक क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको र वाणिज्य नीतिमा केही परिमार्जन गरिने बताए। उक्त नीतिमा परिमार्जन गर्नुपर्ने कुरा प्रधानमन्त्रीको भारत भ्रमणका वेला राखिने बताए।
उनले नेपाल(भारत सीमानाका झुलाघाटमा पक्की पुलका साथै महाकाली नदीमा अन्य स्थानमा पनि पुल बनाउन पहल भइरहेको बताए।
बैतडीमा रहेका खानीहरूको पहिचान गरि ती खानीको उत्खनन गरिने भण्डारीको भनाई छ। पाटनमा ११ महिनादेखि बन्द रहेको हवाई सेवा पुनः सञ्चालन गरिने समेत बताए।
सरकार सुशासन कायम गर्न प्रतिबद्ध रहेको जनाउँदै मन्त्री भण्डारीले कर्मचारी अभाव हुन नदिने दाबी गरे। मन्त्री भएपश्चात पहिलोपटक गृहजिल्ला पुगेका भण्डारीको भव्य स्वागत र सम्मान गरिएको छ।
८ फागुन २०७९, सोमवार ०७:०२ बजे प्रकाशित













