ओलीलाई नै राष्ट्रपति बन्न प्रचण्डको प्रस्ताव, ओलीको अडान ईश्वर पोख्रेलमा
पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई राष्ट्रपति बनाउन एमाले अध्यक्ष केपी शर्मा ओली लागिरहेका छन् ।
स्रोतका अनुसार सभामुख र राष्ट्रपति एमालेले पाउने समझदारी भएयता ओलीले पोखरेललाई पार्टीले राष्ट्रपति उम्मेदवार बनाउने र १० पुसको सहमति अनुसार माओवादीले पनि समर्थन गर्नुपर्ने बताउँदै आएका छन्। तर, प्रचण्ड कुनै हालतमा पनि पोखरेललाई राष्ट्रपति स्वीकार गर्न तयार देखिँदैनन्।
एमाले–माओवादीबिच एकता भई निर्माण भएको ‘नेकपा’ विभाजित हुनुका एक कारक पोखरेल पनि मानिन्छन्। ‘नेकपा’ ले दुई अध्यक्षीय प्रणालीको व्यवस्था गरे पनि उनले अध्यक्षमा प्रचण्डलाई स्वीकार गर्न नसकिने बताउने गरेका थिए। प्रधानमन्त्रीका लागि ओली–प्रचण्डबिच भएको आलोपालो सहमतिको पनि पोखरेलले विरोध गरेका थिए।
अहिले ओलीले उनको नाम राष्ट्रपतिमा लिँदा सायद प्रचण्ड त्यही सम्झेर झस्किइरहेका छन्।
‘राष्ट्रपतिका लागि एमालेबाट सुवास नेम्वाङको चर्चा हुँदै आएको हो, तर ओलीले पोख्रेललाई बढि प्राथमिकता दिएको माओवादी एक शीर्ष नेताले बताए ।
नेम्वाङलाई राष्ट्रपति बनाउनेमा ओली असहमत देखिएपछि प्रचण्डले एमालेका अन्य केही नेताको नाम ओलीसमक्ष प्रस्तुत गरेका छन्। तर, प्रचण्डले सुझावका रुपमा प्रस्तुत गरेका ती नेताको नाम ओलीले स्वीकार गरेका छैनन्।
भावी राष्ट्रपतिका लागि प्रचण्डले सुझावका रुपमा पेस गरेका एमालेका नेताहरूमा अमृत बोहरा, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवाली छन्। ती नेताले थपे, ‘तर, यी नेताहरूलाई पनि राष्ट्रपतिको उम्मेदवार बनाउन ओली तयार देखिँदैनन्।’
पटक–पटक भएका कुराकानीमा समेत राष्ट्रपति उम्मेदवारबारे सहमति जुट्न नसकेपछि प्रचण्डले ओलीलाई नै राष्ट्रपति बन्न प्रस्ताव समेत गरेका छन्। तर, प्रचण्डको यो प्रस्ताव पनि ओलीले अस्वीकार गरेका छन्।
७ फागुन २०७९, आइतवार ०५:४९ बजे प्रकाशित













