निर्मला अनुसन्धान प्रकरण : ७७ अधिकृत असफल हुँदा डिआइजी सिंह होलिन् त सफल ?
निर्मला पन्तको बलात्कार तथा हत्याको घटना अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी का डिआइजी दुर्गा सिंह नेतृत्वको टोली कञ्चनपुर पुगेको छ।
गृहमन्त्री रवि लामिछानेको निर्देशनमा घटनालाई निचोडमा पुर्याउन भन्दै गठन गरिएको डिआइजी सिंह नेतृत्वको टोलीमा चिकित्सक समेत छन्। ५ सदस्यीय अनुसन्धान समिति बुधबार कञ्चनपुर पुगेको हो।
घटनापछि सईदेखि डिआइजीसम्म ७७ जना अनुसन्धान अधिकृतले यो हत्याको अनुसन्धान गरिसकेका छन्। तर, कसैले पनि निचोडमा पुर्याउन सकेनन्। घटना भएको साढे ४ वर्ष बितिसकेको छ।
२०७५ साउन १० गते साथीको घरमा पढ्न भन्दै गएकी भीमदत्त नगरपालिका २ की १३ वर्षीया निर्मला भोलिपल्ट उखुबारीमा मृत फेला परेकी थिइन्। बलात्कारपछि उनको हत्या गरिएको पोस्टमार्टम रिपोर्टमा उल्लेख छ।
यो अवधिमा देशमा ४ गृहमन्त्री र ४ आइजिपी फेरिइसकेका छन्। हरेक गृहमन्त्रीले यो घटना आफ्नो प्राथमिकतामा रहेको बताउने गरेका छन्। कार्यभार सम्हालेपछि हरेक आइजिपीको उत्तर पनि उही हुन्छ– अब चाँडै दोषी पत्ता लाग्छ।
गृहमन्त्रीको जिम्मेवारी सम्हाल्नासाथ रबी लामिछानेले पहिलो निर्णय गर्दै निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्ने बताए। गृहमन्त्री लामिछानेकै निर्देशनमा अहिले केन्द्रीय अनुसन्धान ब्युरोका डिआइजी दुर्गा सिंहको नेतृत्वमा अनुसन्धान समिति गठन भएको हो।
डिआइजी सिंह घटनाको अनुसन्धानमा दोस्रो पटक खटिएकी हुन्। यसअघि एसपी हुँदा पनि उनलाई अनुसन्धानमा त्यहाँ खटाइएको थियो।
७७ जना अनुसन्धान अधिकृत असफल भइसक्दा दोस्रो पटक खटिएकी सिंहलाई दोषि पत्ता लगाउनु चुनौती छ। उनी सफल हुनेछिन् ७८ मा पर्छिन् त्यो हेर्ने केही समय अझै कुर्नु पर्ने देखिएको छ ।
२१ पुस २०७९, बिहीवार १६:०२ बजे प्रकाशित































