सुदूरपश्चिममा कुन दलले कति सिट जित्ला ? यस्तो छ दलहरूको दाबी
दूरपश्चिममा अघिल्लो पटक कांग्रेसले प्रत्यक्ष तर्फ प्रतिनिधि सभामा एक क्षेत्र मात्रै जितेको थियो । एमाले र माओवादी केन्द्रले चुनावी तालमेल गरेर निर्वाचन लड्दा पनि बाम गठबन्धनका उम्मेदवारलाई हराएर डडेल्धुरमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा विजयी भए ।
गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका खगराज भट्टलाई देउवाले ६ हजार ९ सय २९ मतान्तरले हराए ।
देउवाले २८ हजार ४४ मत ल्याउँदा भट्टले २१ हजार एक सय १५ मत पाएका थिए । अघिल्लो पटक कांग्रेसले एक क्षेत्र मात्रै जितेको कांग्रेसले अहिले त्यो अवस्था झेल्नु नपर्ने देखिएको छ । सत्ता गठबन्धनबाट अहिले कांग्रेसले उहाँको १६ मध्ये ९ क्षेत्रमा उम्मेदवार उठाएको छ ।
यहाँका ९ क्षेत्र मध्ये सबै क्षेत्रमा विजयी हुने कांग्रेसको दाबी छ ।‘ हामी यस पटक सबै क्षेत्रमा जित्छौँ’ प्रदेश सह महामन्त्री चिन्ता मणि भट्ट भन्छन् ‘यस पटक हामीले हार्ने कुनै क्षेत्र छैन ।’ उनका अनुसार प्रदेशका सबै क्षेत्रमा कांग्रेस जित्छ ।
एमालेले प्रतिनिधि सभा तर्फ १५ वटै क्षेत्रमा उम्मेदवार उठाएको छ । अघिल्लो पटक १६ मध्ये एमाले र माओवादी मिलेर चुनाव लड्दा ११ क्षेत्रमा विजयी भएको थियो । यस पटक ९ क्षेत्रमा एमाले विजयी हुने एमाले प्रदेश सचिव धर्मराज पाठक बताउँछन् ।
‘हामी ९ क्षेत्रमा विजयी हुन्छौँ’ उनले भने ‘यी ढुक्क भएका क्षेत्रहरू हुन् प्रतिस्पर्धा भएका अन्य केही क्षेत्रमा पनि जित्न सकिन्छ ।’
यता ४ क्षेत्रमा मात्रै उम्मेदवार खडा गरेको नेकपा माओवादी केन्द्रले सबै क्षेत्रमा निर्वाचन जित्ने दाबी गरेको छ ।
‘हामी सबै क्षेत्रमा जित्छौँ’ माओवादी केन्द्रका प्रदेश अध्यक्ष हरि चौधरी उत्सवले भने ‘माओवादी मात्र होइन गठबन्धन नै सबै क्षेत्रमा आउँछ ।’
उनले चार क्षेत्र दाबी गर्दा माओवादीले तीन क्षेत्र जित्न सक्ने आकलन गरिएको छ । अघिल्लो पटक पनि एमालेसँग मिलेर चुनाव लड्दा चार मध्ये तीन क्षेत्र माओवादीले जितेको थियो ।
नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिममा तीन क्षेत्रमा उम्मेदवार खडा गरेको छ । त्यसमा सबै क्षेत्र जित्ने प्रदेश सचिव दिनेश चन्द्र सुबेदी बताउँछन् । ‘हामी सबै जित्छौ’ उनले ‘हामी त्यसमा हामी ढुक्क छौँ ।’
नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिमका प्रतिनिधि सभातर्फ १६ मध्ये ६ र प्रदेश सभाको ३२ मध्ये १६ क्षेत्रमा उम्मेदवारी दिएको छ । नागरिक उन्मुक्तिका केन्द्रीय प्रवक्ता दामोदर पण्डित प्रतिनिधि सभा तर्फ ४ र प्रदेश सभातर्फ १० निर्वाचन क्षेत्रमा आफ्नो पार्टी विजयी हुने दाबी गर्छन् ।
१ मंसिर २०७९, बिहीवार १७:५६ बजे प्रकाशित






























