डडेल्धुराबाट अब नयाँ लाइसेन्स वितरण हुने
डडेल्धुराबाटै अब नयाँ लाइसेन्स वितरण हुने भएको छ । त्यसको लागि आवश्यक तयारी तीव्र रुपमा अगाडी बढेको छ । भदौ पहिलो साताभित्रै सवारी चालक अनुमति पत्र लाइसेन्सका लागि प्रयोगात्मक परीक्षा अर्थात् ट्रायल उद्घाटन गर्ने तयारी छ ।
२०७२ साल असार ३ गते डडेल्धुरासहित बैतडी र दार्चुला जिल्लाका सेवाग्राहीका लागि तत्कालीन महाकाली अञ्चल यातायात व्यवस्था कार्यालय मातहत रहने गरी यातायात सेवा कार्यालय डडेल्धुरा स्थापना भएका थिए ।
उक्त कार्यालयले धनगढी र महेन्द्रनगरदेखि डडेल्धुरासम्म मात्रै रुट पाएका सवारी साधनको डडेल्धुराभन्दा अगाडि रुट दिने गरी पट्के काम गर्दै आएको थियो । २०७४ साल चैत १६ गते सेवा कार्यालयबाट स्तरोन्नति हुँदै यातायात व्यवस्था सेवा कार्यालय नामाकरण गरियो । उक्त कार्यालयले रुट परमिटसँगै नवीकरण, सवारी दर्ता, नामसारी लगायतका सेवा दिन थालेको हो ।
तर पहाडी जिल्लाका सेवाग्राहीलाई सवारी चालक अनुमति पत्र लाइसेन्स नवीकरणका लागि धनगढी र महेन्द्रनगर पुग्नुपर्ने बाध्यता भने कायमै थियो । सोही बाध्यताको अन्त्य गर्नका लागि २०७५ साल पुस १८ गतेबाट यातायात व्यवस्था सेवा कार्यालयबाट लाइसेन्स नवीकरणको काम पनि सुरु गरिएको थियो ।
यद्यपि डोटी र डडेल्धुराका कार्यालयसँग लाइसेन्स जारी गर्ने अधिकार भने थिएन । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद्को बैठकले २०७८ साल चैत १६ गते यातायात व्यवस्था सेवा कार्यालयको स्तरोन्नति गर्दै यातायात व्यवस्था कार्यालय डोटी र डडेल्धुरा नामाकरण गरेको हो ।
यातायात व्यवस्था कार्यालय डडेल्धुराका प्रमुख मेखराज उपाध्यायका अनुसार अहिले लाइसेन्स वितरणका लागि अनलाइन आवेदन खुल्ला छ भने साउन १७ र १८ गते आवेदकलाई कार्यालयमा उपस्थित हुन मिति तोकिएको छ । भदौ पहिलो साताभित्रै सवारी चालक अनुमति पत्र लाइसेन्सका लागि प्रयोगात्मक परीक्षा अर्थात् ट्रायल उद्घाटन गर्ने तयारी भइरहेको उनको भनाई छ ।
१० साउन २०७९, मंगलवार १७:३४ बजे प्रकाशित













