दार्चुलामा महिलाको हत्या आरोपमा पक्राउ परेका आरोपित सार्वजनिक
दार्चुलाको शैल्यशिखर नगरपालिका– १ बारीलकी ४५ वर्षीया अनिभा खडायतको आगोमा जलाएर हत्या गरी फरार रहेका युवकलाई प्रहरीले सार्वजनिक गरेको छ । सोही ठाउँका भोजराज खडायतलाई प्रहरीले शुक्रबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो।
आफ्नो घरबाट ५० मिटर टाढा उखुबारीमा खरको थुप्रोमा जलेको अवस्थामा बुधबार महिलाको शव फेला परेको थियो । भोजराजले ती महिलालाई घरबाट बोलाई बारीमा लगेको र करणी गर्ने विषयमा उनीहरूबीच विवाद हुँदा ढुंगा हानी घरतर्फ जाँदै गर्दा मृतककी छोरीले देखेकोले आफ्नो पोल खुल्ने डरले पुनः घटनास्थल गई खरले छोपी आगो लगाई घटनास्थलबाट फरार भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए।
साथै खडायतको साथबाट अनिभाले कानमा र नाकमा लगाएको सुनको बाली २ थान र नथियाँ १ थान समेत प्रहरीले बरामद गरेको छ। उनी उपर जबरजस्ती करणी, ज्यानसम्बन्धी कसुर र डाँका चोरी शीर्षक मुद्दामा जिल्ला अदालत दार्चुलाबाट ७ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको डीएसपी विष्टले बताए।
२७ जेठ २०७९, शुक्रवार २२:२० बजे प्रकाशित













