शाहीको हत्यामा संलग्न रहेको आशंकामा ५ जना पक्राउ
अछामको पञ्चदेवल विनायक नगरपालिका– ४ का १६ वर्षीय विनोद शाहीको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता प्रहरी निरीक्षक कैलाश विष्टका अनुसार सिआइवीको टोलीले ५ जनालाई पक्राउ गरेको हो ।
उनीहरूलाई जिल्ला प्रहरी कार्यालयमा लगेर सोधपुछ भइरहेको उनले जानकारी दिए । प्रहरीले पक्राउ गरेका को हुन् भन्ने बारे अझै गोप्य राखेको छ ।
अनुसन्धानको लागि पक्राउ गरिएको बिष्टको भनाइ छ । शाही यहि जेठ २१ गते शनिवार बिहान घर नजिकैको भिरमा मृत अवस्थामा फेला परेका थिए। स्थानीयले उनको हत्या भएको भन्दै आन्दोलन गरिरहेका छन् । मृतकका आफन्तहरूले अझै पनि शव उठाउन मानेका छैनन् । उनीहरुले दोषीलाई कारवाही नगरे सम्म शव नउठाउने अडान गर्दै आएका छन् ।
२५ जेठ २०७९, बुधवार ०९:२८ बजे प्रकाशित












