अछाममा नवनिर्वाचित वडाध्यक्ष निलम्बित
भ्रष्टाचारको मुद्दा विचाराधीन रहेकै अवस्थामा निर्वाचित अछामका एक वडाध्यक्ष निलम्बनमा परेका छन् । पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर- ७ पुल्लेतोलाका नवनिर्वाचित वडाध्यक्ष सुरतबहादुर रावल निलम्बनमा परेका हुन् ।
भ्रष्टाचारको मुद्दा विचाराधीन रहेका बेला स्थानीय तहको जनप्रतिनिधि चुनिएको भन्दै अख्तियारले स्वतः निलम्बनमा रहने व्यवस्था कार्यान्वयन गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, निर्वाचन आयोग र सम्बन्धित स्थानीय तहलाई पत्र लेखेको छ ।
वडाध्यक्ष रावलले कालीदेवी माविको शिक्षक रहँदा नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेको भन्दै उनीविरुद्ध मुद्दा चलेको थियो । यो मुद्दा हाल विचाराधीन रहेको छ ।
अब मुद्दा किनारा नलाग्दासम्म रावल स्वतः निलम्बनमा रहने छन् । नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका रावल नेकपा माओवादी केन्द्रका भीमबहादुर रावललाई पराजित गर्दै वडाध्यक्षमा निर्वाचित भएका थिए ।
२५ जेठ २०७९, बुधवार ०७:४३ बजे प्रकाशित












