कैलालीमा लागुऔषधसहित २ जना पक्राउ

कैलालीमा लागुऔषधसहित २ जना पक्राउ परेका छन्। धनगढी ३ मिलनचोक घर भई डोटीको जोरायल गाउँपालिका २ बुडरमा होटेल सञ्चालन गर्दै आएका ४५ वर्षीय प्रेमकुमार रेग्मी पक्राउ परेका हुन्।

कैलालीको गोदावरी नगरपालिका ४ गोदावरी चेक पोष्टस्थित से १ च ६२९ नम्बरको बोलेरो जिप चलाइरहेका रेग्मीले लगाएको सर्टको खल्तिबाट कालो प्लाष्टिकमा पोका पारी लुकाईछिपाई राखेको अवस्थामा उक्त परिमाणमा लागुऔषध र नगद फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।उनलाई अत्तरिया बजारमा लागुऔषध कारोबार गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा खानतलासी गर्दा २० ग्राम ४१ मिलिग्राम खैरो हिरोइन र २० हजार नगदसहित पक्राउ गरिएको प्रहरीले बताएको छ।

उनीसँग प्रारम्भिक सोधपुछको क्रममा उक्त लागुऔषध कञ्चनपुरको कृष्णपुर नगरपालिका ५ का ४८ वर्षीय दुग्गड भनिने तेजबहादुर खड्काबाट १ लाख २० हजारमा खरीद गरेको भनि खुल्न आएपछि खड्कालाई पनि पक्राउ गरिएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए। दुबै जनालाई पक्राउ गरी घटनाबारेमा थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।


२४ जेठ २०७९, मंगलवार २२:१५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु