बिपद् जोखिम न्युनीकरण सम्वन्धी धनगढीमा छलफल
मनसुन सुरु भएपछि त्यसले पार्ने प्रभाव र क्षति कम गर्न सञ्चारकर्मीहरुको भूमिका महत्वपूर्ण रहेको बताइएको छ । मंगलबार धनगढीमा सञ्चारकर्मीहरुका लागि बिपद् जोखिम न्युनीकरण सम्वन्धी अभिमुखीकरणमा सहभागीहरूले यस्तो बताएका हुन् ।बाढी, पहिरो, डुवान, कटान, हावापानी, आगलागी, चट्याङ्ग, भूकम्प जस्ता प्राकृतिक प्रकोप सुरु हुनु पूर्व आवश्यक तयारी र बिपत निम्तिसकेपछि त्यसको व्यवस्थापन के कसरी गर्न सकिन्छ भन्ने बारेमा छलफल भएको हो ।
छलफलमा सञ्चारकर्मीले जोखिम न्युनीकरण सम्वन्धी कसरी रिर्पोटीङ गर्न सक्छन् भनेर छलफल गरिएको हो । सञ्चार माधयमबाट एकै साथ धेरैलाई सूचना मिल्ने हुँदा यसको महत्व झन बढी रहेको नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमाल जोशीले बताए । उनले पत्रकारहरुलाई मौसम पूर्वा अनुमान तथा यसका प्रभाव बारे जानकारी गराउन बिभीन्न समयमा गोष्टी तथा तालिमको आवश्यकता समेत रहेको बताए ।

मनसुन सुरु हुन पूर्व आवश्यक स्रोत साधनको बन्दोबस्त, सुरक्षा उपाय, जनशक्ति व्यवस्थापन तथा बिपतपछि भएको क्षतिको यकिन तथ्याङ्क सङ्कलन गर्न आवश्यक रहेको सहभागिहरुले बताएका छन् । यस्तै प्राक्टीकल एक्सनका वरिष्ठ कार्यक्रम अधिकृत चक्र बहादुर बमले बहुप्रकोप पूर्व सूचना प्रणालीको स्थानियक्रम सम्बन्धी छलफल गरेका थिए । उनले बाढीपुर्व सूचना मात्रै नभएर अब विभिन्न प्राकृतिक प्रकोपको आवश्यक पूर्व तयारी गर्नुपर्नेमा जोड दिए । प्राक्टीकल एक्सनका धरम राज उप्रतीले कार्यक्रमको सहजीकरण गरेका थिए । कार्यक्रममा बिभीन्न सञ्चार माध्यममा आबद्ध पत्रकारहरुको सहभागिता रहेको थियो ।
२४ जेठ २०७९, मंगलवार २१:४० बजे प्रकाशित












