माओवादीले पार्टी सदस्यबाट १०० रूपैयाँ उठाउने
नेकपा (माओवादी केन्द्र) ले पार्टी केन्द्रीय कार्यालय व्यवस्थित बनाउन एवं अन्य रचनात्मक कामका लागि खर्च जुटाउने उद्देश्यका साथ पार्टीका सबै सदस्यबाट १०० रूपैयाँका दरले लेबी उठाउने भएको छ ।
माओवादीका देशभर कुल ८ लाख पार्टी सदस्य छन् । त्यसबाट ८ करोड बराबरको रकम सङ्कलन हुनेछ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा आज बसेको पार्टीका पूर्वस्थायी समितिका सदस्यको बैठकले पार्टीको कार्यालय विस्तार तथा व्यवस्थापनका लागि एकपटकका लागि उक्त परिमाणमा रकम सङ्कलन गर्ने निर्णय गरेको हो ।
बैठकमा मुलुकको समसामयिक राजनीतिक विषयका अलावा हालै सम्पन्न स्थानीय तहको निर्वाचन, पार्टीका अन्य कामलगायत विषयमा छलफल भएको थियो ।
२२ जेठ २०७९, आइतवार १५:१९ बजे प्रकाशित






























