अछाममा ग्याङ फाइटपछि हराइरहेका किशोर ५ दिनपछि मृत भेटिए
अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का किशोर विनोद शाहीको शव फेला परेको छ । पाँच दिनदेखि हराइरहेका १५ वर्षीय शाहीको गाउँनजिकैकौ जंगलमा आज बिहान शव भेटिएको हो । १७ जेठको राति गाउँका युवाहरूबीच झगडा भएको थियो ।
‘झगडापछि हराइरहेका विनोदको आज लास भेटिएको कुरा छ’, थप बुझ्ने प्रयास गरिरहेका छौँ’, नगरपालिकाका उमप्रमुख हर्कबहादुर रावलले भने ।
उनका अनुसार गाउँले युवाहरूको झगडा साम्य पार्न प्रहरी पुगेको थियो । झगडास्थलमा प्रहरी पुगेको भए पनि त्यसैदिनबाट किशोर बेपत्ता भएका गाउँलेहरूको भनाइ छ ।
उनीहरूले झगडा साम्य पार्न पुगेको प्रहरीले महिला तथा बालबालिकामाथि अभद्र व्यवहार गरेको पनि आरोप लगाएका छन् । प्रहरीकै घेराबाट विनोदलाई बेपत्ता पारिएको आरोप पनि उनीहरूले लगाएका छन् ।
घटनाका दिन प्रहरीले झगडा गर्ने युवाहरूलाई नियन्त्रणमा लिन खोज्दाको भिडियो पनि सार्वजनिक भएको छ ।
२१ जेठ २०७९, शनिवार २०:०९ बजे प्रकाशित































