विपन्न महिला तथा बालबालिकालाई आर्थिक सहयोग प्रदान
धनगढी उपमहानगरपालिका वडा नम्बर -१२ मा रहेका विपन्न, एकल, हिंसा प्रभावित महिला तथा तिनका बालबालिकालाई आर्थिक सहयोग प्रदान गरिएको छ । युनिसेफको सहकार्यमा बागेश्वरी असल शासन क्लब ( बास नेपाल ) ले सो आर्थिक सहयोग प्रदान गरेको हो । धनगढी उपमहानगरपालिका वडा नम्बर १२ मा रहेको हिम्मतपुर सुकुम्बासी शिविरका महिला तथा बालबालिका गरी ६ जनालाई सो आर्थिक रकम सहयोग गरिएको हो ।
विपन्न, एकल, हिंसा प्रभावित महिलाहरुको आर्थिक अवस्था उकास्न तथा दिगो जिवीको पार्जमा लगानी गर्न चाहने महिला र आर्थिक अवस्था कमजोर भएका बालबालिकाहरुलाई शैक्षिक सामाग्री खरिद गर्न सहयोग पुगो भन्ने उदेश्यका साथ सो आर्थिक सहयोग प्रदान गरिएको हो ।

धनगढी उपमहा नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष शेर बहादुर महराद्वारा सो रकम हस्तान्तरण गरिएको हो । अध्यक्ष महराले यसरी आफ्नो वडामा रहेका विपन्न महिला तथा बालबालिकाहरुलाई सहयोग गरेकोमा निकै खुशी लागेको बताए । साथै उनले बास र युनिसेफले गरेको यो कार्य निकै राम्रो रहेको बताउदै आफु पनि वडा बाट महिला तथा बालबालिकाहरुका लागि कुनै पनि सहयोग गर्न तयार रहेको बताए ।

स्थानी सरकार र विभीन्न संघसंस्थाको सहकार्यमा यस्ता अन्य कार्यक्रमहरु पनि अझै हुन आवश्यक रहेको उनले बताए । सो कार्यक्रमा भलमन्सा, वर्तमान र निवर्तमान वडा सदस्य, समुदाएका अगुवा महिलाहरुको पनि सहभागीता रहेको थियो ।
१७ जेठ २०७९, मंगलवार १९:४३ बजे प्रकाशित













