कोरोनामुक्त नहुँदै अस्पतालबाट डिस्चार्ज, घर जान नसकेपछि फेरि भर्ना
धनगढी ,जेठ २३ । सेती प्रादेशिक अस्पतालले आज ६ जना कोरोना संक्रमितहरूलाई डिस्चार्ज गर्यो। डिस्चार्ज हुनेमा एकै घरका बाबु र छोरीसहित अरू चारजना थिए।
अस्पतालले अछामको मेल्लेख गाउँपालिकाका ३२ बर्षीय पुरुष र उनकी ११ वर्षीया छोरी, बैतडीको शिवनाथ गाउँपालिका वडा नम्बर १ का २० र २७ वर्षीय पुरुष तथा शिवनाथ गाउँपालिकाकै वडा नम्बर २ का २० र २२ वर्षीय पुरुषलाई डिस्चार्ज गरेको थियो।
उनीहरूलाई कोरोनामुक्त भएर डिस्चार्ज गरिएको होइन। स्वास्थ्य मन्त्रालयले जारी गरेको नयाँ निर्देशिकाअनुसार उनीहरूलाई डिस्चार्ज गरिएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दीलिप श्रेष्ठले बताए।
संक्रमित व्यक्तिहरूमा कुनै लक्षण नदेखिएको र स्वास्थ्य समस्या नभएका संक्रमितलाई १४ दिन आइसोलेसनमा राखेर डिस्चार्ज गर्न मिल्ने निर्देशिकाको नयाँ व्यवस्थाअनुसार उनीहरूलाई डिस्चार्ज गरेको श्रेष्ठले बताए।
सेती प्रादेशिक अस्पतालअन्तर्गत सञ्चालित कोरोना अस्थायी अस्पतालका डा. निराजनदत्त शर्मा पौडेलले उनीहरूलाई लिन कोही पनि नआएको र सम्बन्धित जिल्लासम्म पुर्याउने व्यवस्था पनि नभएपछि पुनः प्रिआइसोलेसनमा राखिएको बताए।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २० जेठमा जारी गरेको नयाँ निर्देशिकामा कुनै लक्षण नदेखिएका संक्रमितहरूलाई १४ दिनपछि घरमै आइसोलेसनमा बस्नेगरी चिकित्सकले डिस्चार्ज गर्न सक्ने उल्लेख छ।
२३ जेठ २०७७, शुक्रवार १६:०१ बजे प्रकाशित












