पश्चिम रुकुम घटनामा ज्यान गुमाएका ६ जनाको १३औँ दिनको पुण्य तिथिमा धनगढीमा श्रद्धाञ्जली सभा
धनगढी,जेठ २३ । पश्चिम रुकुम घटनामा ज्यान गुमाएका नवराज बि क सहित ६ जनाको १३औँ दिनको पुण्य तिथिमा धनगढीमा श्रद्धाञ्जली सभाको आयोजना गरिएको हो । मुक्तिका लागि साझा अभियानले धनगढीको पार्क मोडमा गरिएको ज्यान गुमाएका प्रतिमृतआत्माको शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको हो । श्रद्धाञ्जली सभामा धनगढी उपमहानगरपालिकाका प्रमुख नृप वडले बिश्वनै कोरोना भाइरसका कारण त्रसित भईरेका बेला यो घटनाले नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय रूपमा नै लज्जित भएको बताए ।
उनले सरकारले कानुनीलाई अगाडि बढाउन नसकेका कारण यस्ता घटनाहरू घटिरहेकोले यसमा सरकारले गम्भीर बन्नु पर्ने बताए । उनले कञ्चनपुरकी बालिका निर्मला पन्तको घटना जस्तै मात्रै यस घटनालाई बनाएर आन्दोलित हुने वातावरण नबनाउन समेत आग्रह गरे । यस्तै श्रद्धाञ्जली शभामै धनगढी उपमहानगरपालिकाकी उप प्रमुख सुशीला मिश्र भट्टले देशमा बढ्दो हत्या भेदभाव बढ्दै गएकाले सरकारले कानुनलाई बलियो बनाउनुपर्ने र मृतका दोषीलाई कडा भन्दा कडा कानुनी कठघरामा उभाउनुपर्ने बताइन् ।
यस्तै मुक्तिका लागि साझा अभियानका संयोजक प्रेम बिसीले पनि मृतक ६ जनाको दोषीलाई कारबाही गर्नमा सरकार पछि परेको बताए । उनले यस्ता घटना बढ्दै जाँदा सरकार रमिते बढ्दै गएकोले यस्ता घटनामा वृद्धि भएको बताए । उनले मृतक ६ जनाले न्याय नपाउन्जेल सम्म आन्दोलनका कार्यक्रम जारी राख्ने बताए । श्रद्धाञ्जली सभा कार्यक्रममा धनगढी उपमहानगरपालिकाका प्रमुख नृप वड उप प्रमुख सुशीला मिश्र भट्टको समेत उपस्थिति रहेको थियो । गत शनिवार पश्चिम रुकुममा प्रेमिकासँग विवाह गर्न साथीसहित आएका जाजरकोट भेरी नगरपालिकाका नवराज विकसहित ६ जनाको केटी पक्षको आक्रमणबाट जोगिन नदीमा हाम फाल्दा मृत्यु भएको थियो .
२३ जेठ २०७७, शुक्रवार १५:२० बजे प्रकाशित












