आगलागीबाट ४ बालबालिकाको मृत्यु
तिला गाउँपालिकाका–३ जुम्ला कुडारी सार्कीवाडा गाउँमा गए राति आगलागी हुँदा ४ बालबालिकाको मृत्यु भएको छ। आगलागीबाट मानसिं सार्कीका दुई छोरी, एक छोरा र एक भान्जीको मृत्यु भएको छ। मृत्यु हुनेमा सार्कीका छोरीहरु ११ वर्षीया अनु र तीन वर्षीया दर्शना तथा एक वर्षीय छोरा दीपेश र भान्जी १४ वर्षीया तिर्सना सार्की रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी प्रमुख नायब उपरीक्षक नरेन्द्र चन्दले राससलाई जानकारी दिए। आगलागीबाट घरको दोस्रो र तेस्रो तला पूर्णरुपले क्षति भएको उनले बताए।
आगलागीका कारण बेहोस भएका मानसिं र उहाँकी श्रीमती फागुनी तथा बहिनी रुन्चकलीलाई उपाचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको छ। घटना कसरी भएको भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
१० वैशाख २०७९, शनिवार ०७:३० बजे प्रकाशित































