सुदूरपश्चिममा उल्लासपूर्वक ‘बिसु’ पर्व मनाइँदै
सुदूरपश्चिम प्रदेशमा आज विसुु पर्व मनाइँदै छ । नयाँ वर्षको पहिलो दिनलाई आज सुदूरपश्चिमेलीले विसुु पर्वका रुपमा मनाउने गरेका छन् ।
सुदूरपश्चिमका पहाडी जिल्ला डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ, डोटी, अछाम र बाजुरामा आफ्नै मौलीकताअनुसार विसु पर्व मनाइने गरेको ज्योतिष जयप्रसाद जोशीले बताए ।
सुदूरपश्चिममा एक वर्षभरि विदेशिएका सबै परिवारका सदस्य र दिदी, बहिनीसमेत माइतीघर आउने र सबै एकै ठाउँमा जमघट भई मीठा–मीठा खानेकुरा तथा स्थानीय खानाका परिकार पकाइ खुसी साटासाट गरी मनाउने मनाउने गरिएको पाइन्छ ।
सुदूरपश्चिम प्रदेशमा सिस्नो लगाएर विसुु पर्व मनाउने गरिएको छ । देवर र भाउजु तथा साली र भिनाजु एकापसमै सिस्नो लगाएर पनि नयाँ वर्ष तथा विसु पर्व मनाउने गरेका छन् । आजको दिन सिस्नो लगाए वर्षभरि सङ्कट नआउने जनविश्वास रहेको अमरगढी नगरपालिका–७ का टेकराज भट्टले बताए । आजका दिन सिस्नो लगाउँदा वर्षभरि राम्रै बित्ने र सङ्कट नआउने उनको भनाई छ ।
तराईका जिल्लाभन्दा पहाडका जिल्लामा यो पर्वको रौनक बढी देखिन्छ । सिस्नु पानी छ्याप्दा शरीरमा रहेका छालासम्बन्धी रोग निको हुने जनविश्वास छ । हरेक घरमा दहीमा चामल भिजाएर बनाइएको ‘दहीचामल’ आपसमा बाँडेर खाने चलनसमेत छ ।
यो पर्व मनाउने तयारीस्वरूप पहाडी गाउँबस्तीका घरपरिवारले आ–आफ्नो घरलाई रातो र कमेरो माटोले लिपपोत गरेर चिटिक्क पारेका छन् । घर लिपपोत गर्न नसक्नेको घरको लिपपोतको काम छिमेकी महिलाको सहयोगमा गर्ने गरिन्छ । लिपपोत गर्ने कामको नेतृत्व महिलाले गर्ने गर्छन् ।
१ वैशाख २०७९, बिहीवार ०९:०८ बजे प्रकाशित































